समाचार

सरकारको प्रयासमा पूर्ण साथ दिन उपराष्ट्रपतिको अपिल

काठमाडौँ, १० चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा उक्त पारिश्रमिक प्रदान गर्ने हुनुभएको उपराष्ट्रपतिको प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए ।

उपराष्ट्रपतिले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गरेका छन् ।