गण्डकी प्रदेश

कोभिड–१९ : एक साता गण्डकी प्रदेशका सबै नाका बन्द गरिने

कास्की, १० चैत । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न गण्डकी प्रदेशका सबै नाका बन्द गरिने भएका छन् । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा प्रदेशमा गठन गरिएको उच्चस्तरीय निर्देशक समितिको आज बसेको बैठकले मङ्लबारदेखि लागू हुने गरी एक हप्तासम्म प्रदेश भित्रिने नाकामा अत्यावश्यकीय मालबाहक साधन बाहेक आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।

प्रदेश प्रवेश गर्ने नवलपुरको त्रिवेणी, दाउन्ने, गँैडाकोट, स्याङ्जाको राम्दी, तनहुँको आँबुखैरेनी तथा बागलुङको बूर्तिवाङ नाका बन्द गरी अत्यावश्यक बाहेकका सबै सवारीसाधन र व्यक्तिलाई प्रदेशको क्षेत्रभित्र प्रवेश निषेध गर्ने निर्णय गरिएको प्रदेश स्वास्थ्य निर्देशक एवं समितिका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।

बैठकले प्रदेशभित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण पसल, उद्योग व्यवसाय तथा यातायातसमेत बन्द गर्न आह्वान गरेको छ । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उच्चस्तरीय निर्देशक समितिले गरेको निर्णय कार्यान्वयनका लागि बाँकी १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरिएको बताए ।

बैठकले हालका लागि अस्पतालमा आकस्मिक बाहेक ओपिडीसेवा समेत बन्द गरी ‘हेलो डाक्टर’ कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ । सम्भावित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि लेखनाथस्थित लेखनाथ ६० बेड क्षमताको सामुदायिक लायन्स अस्पताललाई कोभिड–१९ विशेष उपचार अस्पताल बनाउने घोषणा गरिएको छ ।

समितिले क्वारेन्टाइनका लागि कृषि तालीम केन्द्र मालेपाटनलाई पहिलो चरणमा क्वारेन्टाइनका लागि उपयोग गर्ने भएको छ । स्वास्थ्यसँग शिक्षा, वन, भेटेरिनरी तालीम केन्द्र र सशस्त्र बल, विपद् व्यवस्थापन केन्द्र लामापाटनलाई क्वारेन्टाइन होमका रुपमा बन्दोबस्ती अवस्थामा रहन बैठकले निर्देशन दिएको प्रवक्ता शर्माले जानकारी दिए । बैठकले हालसम्म कोरोना सङ्क्रमण न्यूनीकरणका लागि भए गरेका कामका बारेमा समीक्षा समेत गर्दै थप प्रभावकारी ढङ्गले अघि बढ्ने भएको छ ।