लुम्बिनी

बाँकेमा खाद्यान्न सङ्कट नहुने

कोहलपुर । प्रदेश नं ५ मा रहेको बाँकेको नेपालगञ्ज साबिक मध्यपश्चिम क्षेत्रमा चामल अभाव नहुने नेपाल खाद्य संस्थान, नेपालगञ्ज कार्यालयले बताएको छ ।

खाद्य संस्थानको गोदाममा ३० हजार क्विन्टल चामल मौज्दात रहेको र १० हजार क्विन्टल चामल मिलबाट ल्याउने तयारीमा रहेको भन्दै ढुक्क हुन संस्थानले सबैलाई आग्रह गरेको छ ।

यसभन्दा अगाडि पनि यस क्षेत्रमा चामलको समस्या नभएकाले मिलबाट आउने र खरिद गरी ३० हजार क्विन्टल चामल आउने अवस्थामा रहेको खाद्य संस्थानको नेपालगञ्जका प्रमुख भरत खनियाले बताएका छन् ।

“कोरोनाका कारणले चामल पाइँदैन कि भनेर आत्तिहाल्नुपर्ने अवस्था छैन”, खनियाले भने, “अत्यावश्यक परेको अवस्थामा नेपालगञ्जले फुट्कर चामल पनि बिक्री गर्न सक्ने भएकाले उपभोक्तालाई हतास नहुन आग्रह गर्दछु ।”

खनियाका अनुसार संस्थानले नेपालगञ्जबाट अहिले कर्णाली प्रदेशका जिल्लासहित दाङ, रोल्पा, रुकुममा चामल पठाउँदै आएको छ । उनले यहाँबाट ३० हजार पाँच सय क्विन्टल चामलबाहिर पठाउनुपर्नेमा अहिलेसम्म १७ हजार क्विन्टल चामलमात्र बाहिर गएको बताएका छन् ।