राजनीति

कालोबजारी रोक्न लगायत तरुण दलले सरकारलाई गरायो १२ बुँदे महत्वपूर्ण ध्यानाकर्षण

काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले स्वास्थ्यकर्मीहरुलाई नोबेल कोरोना भाईरसबाट बचाउन खटिएको अवस्थामा बिशेष योजना ल्याउन सरकारसँग मागथ गरेको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले एक बिज्ञप्ती जारी गर्दै १२ बुंदे माग गरेका छन् । जनतालाई सचेत रहन आग्रह गर्दै उनले कालोबजारी रोक्न समेत ओली सरकारसँग ध्यानाकर्षण गराएका छन् ।

बिज्ञप्तीमार्फत उनले भनेका छन्ः

विगत केही समय देखि विश्व समुदाय नोभल कोरोना भाईरस संग लडिरहेको छ । हाल सम्म नेपालमा यो भाईरसले प्रत्यक्ष असर नगरे पनि अप्रत्यक्ष रुपमा नेपालले पनि यो भाईरसको सामना गर्नु परिरहेकै छ । त्यसैले यस भिषम परिस्थितिमा सम्पूर्ण सम्बन्धित निकाय आम नागरिक र सरकारले आ–आफनो क्षेत्रबाट जिम्मेवारपूर्ण ढंगले प्रस्तुत भई संक्रमण हुनबाट आफु जोगिई अरुलाई पनि जोगाईदिन नेपाल तरुण दल हार्दिक अपिल गर्दछ ।

१) आदरणीय आमाबुवा, दाजुभाई, दिदीबहिनीहरु अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गरिन्छ ।

२) विभिन्न कामका लागि नेपाल बाहिर गएका सम्पूर्ण नागरिकलाई जो जहाँ हुनुहुन्छ केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिनुहुन अनुरोध गरिन्छ ।

३) समाजिक संजाल, अनलाइन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनहुन सम्पूर्ण संचार माध्यमहरु संग अनुरोध गरिन्छ ।

४) समाजिक संजाल लगाएत अन्य माध्यममा अनावश्यक अपवाह फैलाईएको देखिएकोले अपवाह फैलाई त्रसित बनाउने जो कोहीलाई कडा भन्दा कडा कारवाही गरियोस । त्यसका लागि नेपाल तरुण दल नेपाल सरकार र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न सदैब तत्पर रहने जानकारी गराउदछौ ।

५) हाल ठुला तारे होटलहरु बन्द अवस्थामा रहेका हुनाले होटल संचालक निकाय संग आवश्यक सल्लाह गरी उक्त होटलहरु आइसोलेसनका लागि तयारी अवस्थामा राखियोस ।

६) धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटलहरु, तालिम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइनको प्रयोगको लागि सम्बन्धित निकाय संग सर सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाईयोस ।

७) मास्क, औषधी, सेनिटाइजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन थालेकोले यसरी कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडा भन्दा कडा कारवाही गरियोस । साथै जनताका न्युनतम सेवा सुविधाका वस्तुको उपलब्धतामा सहजता कायम गरियोस ।

८) स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनका लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधामा प्रबन्ध गरियोस ।

९) केही समयका लागि अति आवश्यक बाहेक अन्य कार्यहरु बन्द गर्नुपर्ने अवस्था आएकाले दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने वर्ग मारमा पर्ने देखिन्छ । यसकारण यो वर्गको दैनिक जीवन निर्वाहको लागि सरकारका तर्फबाट आवश्यक प्रबन्ध गरियोस ।

१०) निजि क्षेत्रबाट हवाईसेवा प्रदान गर्ने केही कम्पनीहरुले तोकिएको भन्दा अत्याधिक भाडा असुलेको देखिनमा आएकोले सो कार्य तत्काल रोक्न नेपाल तरुण दल ध्यानाकर्षण गराउदछ ।

११) सकेसम्म लामो दुरीको यात्रा नगरौ यदि गर्नैपर्ने अवस्था आएमा यसका लागि सरकारका तर्फबाट सुरक्षित र सुलभ यातायातको प्रबन्ध गरियोस ।

१२) अन्त्यमा सम्पूर्ण निकायलाई आफु र आफु वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफु सचेत भई अरुलाई पनि सचेत गराउदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल हार्दिक अनुरोध गर्दछ ।
जय नेपाल ।