प्रदेश 2

कोरोना संत्रासः सप्तरी संग जोडिएका सम्पुर्ण भारतीय सीमानाका बन्द

राजविराज । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्नका लागि भारतसँग सिमाना जोडिएका १६ नाकासहित सबै नाका आजदेखि सप्तरी प्रशासनले पूर्णरूपमा बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी नाकासहित भारतसँग सिमाना जोडिएका सबै नाकाहरु बन्द गरिएको छ । कोभिड–१९ सङ्क्रमणबाट जोगिनका लागि सबै नाका बन्द गरिएको भए पनि नाकामा अति आवश्यक समस्या र काम परेका बेला त्यसलाई विशेष स्वास्थ्य जाँच गरेर आउजाउ गर्ने व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिएका छन् ।

सप्तरीको सिमानासँग जोडिएको विहार राज्यमा भाइरस सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाइएको छ । भारतबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत सप्तरी प्रशासनले मिलाएको जनाइएको छ । क्वारेन्टाइनमा राख्नका लागि राजविराजस्थित बन्द अवस्थामा रहेको साइकृष्णा अस्पतालमा ५०÷६० श्यया तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतबाट आउने व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राख्ने तथा त्यसपछि अवस्था पहिचान गरेर मात्रै घर फर्काउने वा आइसोलेसन कक्षमा पठाउने तयारीसमेत गरिएको छ । त्यस्तै आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ श्यया तथा छिन्नमस्ता अस्पतालमा २० श्यया, रुपनीस्थित युनिक अस्पतालमा २० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी ५६ श्यया तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भाइरसको सङ्क्रमणबाट बच्न सबैले सावधानी अपनाउनुपर्ने भएकाले अनावश्यकरूपमा हिँडडुल नगर्न तथा घरभित्रै बस्न सप्तरी प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।

राजविराजको अस्पतालमा आइसोलेसन कक्ष स्थापना

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना भाइरसबाट जोगिन छुट्टै आइसोलेसन कक्ष स्थापना गरिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा छ श्ययाको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए । उनका अनुसार वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजितकुमार झाको नेतृत्वमा आइसोलेसन वार्ड तथा फिवर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ ।

स्थापना गरिएको फिवर क्लिनिकमा ज्वरो, रुघाखोकीका बिरामीको मात्र जाँच गरिने व्यवस्था गरिएको छ । अस्पतालमा तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा कोरोना भाइरसको शङ्कास्पद बिरामीको नमूना सङ्कलन गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दासले जानकारी दिएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्यकर्मी पूर्णरूपमा तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले अस्पतालभित्र सेवा लिन आउने सेवाग्राहीका लागि कोरोना भाइरसबाट जोगिन साबुनपानीले हात धुने व्यवस्था समेत गरिएको बताएका छन् ।

यस्तै सप्तरीको राजविराज हनुमानगर रोडमा रहेको साइकृष्णा मेडिकल कलेजको भवनमा क्वारेन्टाइनका रूपमा प्रयोग गरिने तयारी भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा दासले बताएका छन् ।

अस्पतालको फिवर क्लिनिकमा आएका शङ्कास्पद बिरामीलाई साइकृष्णा मेडिकल कलेज भवनको क्वारेन्टाइनमा निगरानीमा राखेर उपचार गरिने छ । त्यस्तै राजविराजको छिन्नमस्ता अस्पताल र युनिक अस्पतालले समेत शङ्कास्पद बिरामीका लागि २० श्ययाको आइसोलेसन वार्ड राखेको बताइएको छ ।