प्रवास

अमेरिकामा बस्दै आएका दुई नेपालीमा कोरोना भएको पुष्टिः कस्तो छ अवस्था ?

काठमाडौं । अमेरीकामा रहेका दुई जना नेपालीमापनि  कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

अमेरिकाको न्युयोर्क राज्यमा बस्दै आएका दुई नेपालीका भाईरस देखिएको बताईएको छ । साथै दुई नेपाली मध्य एक ५० वर्षे नेपालीको अवस्था गम्भिर रहेको छ ।

अहिले दुवै जनालाई कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए ।

पारिवारिक स्रोतकाअनुसार उबर चलाउने उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो । चिकित्सकको सल्लाह बमोजिम चारदिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनिया देखिएको जनाइएको छ।

उनकी श्रीमतीका अनुसार कोरोना संक्रमणपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको छ । उनले प्रेसरको औषधी प्रयोग गर्दै आएका थिए तर उनलाई अन्यरोगको समस्या भने नरहेको बताइएको छ ।

यस्तै आइतबार नै न्यूयोर्क राज्यमै बसोबास गर्ने अर्का एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो । उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ।

अस्पताल भर्ना भएका ५० वर्षीय ती नेपालीका छोराले दिएको जानकारीअनुसार उनलाई पहिले देखिनै मधुमेहको समस्या थियो। परिवारका सबै सदस्यको कोरोना चेकअप गरिएको र उनीहरुको मंगलबारसम्म रिर्पोट आउने बताइएको छ। परिवारका बाँकी सदस्य भने घरमै बसिरहेका छन् ।

कोरोना भाइरस संक्रमितको संख्या अमेरिका तीव्र रुपमा बढ्दै गएको छ। संक्रमितको संख्याका आधारमा अमेरिकामा अहिले तेस्रो स्थानमा छ । अमेरिकामा कोरोनाको संक्रमण बढ्दै गएपछि त्यहाँ वस्दै आएका नेपाली चिन्तीत बनेका छन् ।