बाग्मती

काठमाडौंमा तत्काल ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने

९ चैत, काठमाडौं । विश्वव्यापी फैलिएको कोरोनाले गर्दा नेपालमा पनि निकै प्रभाव परेको छ । नेपालमा संक्रमण नदेखिएपनि यसवाट बच्नको लागि सरकारले पनि निकै ध्यान दिएको छ । सरकारले सोमबारदेखि लामो यात्राको यातायातदेखि अन्य उद्योग, पसल, कारखानालगायत कार्यालयहरु पनि बन्द गर्ने भएको छ । क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबार बसेको पहिलो बैठकवाट काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने निर्णय भएको छ ।

शनिबार गठन भएको उक्त कार्यदलको आजको बैठकवाट काठमाडौं उपत्यकाभित्रका होटेल, होस्ट, स्कूल तथा रंगशालाहरुलाई उपयोग गरिने निर्णय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नेतृत्व रहेको उक्त कार्यदलको बैठकले पर्यटन विभाग र नेपाल पर्यटन विभागलाई होटेल व्यवसायीहरुसँग समन्वय गरी २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटेलको स्थानसहितको विवरण तयार गर्न निर्देशन दिएको छ ।काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टेल तथा रंगशालामा क्वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गरी कार्यदललाई जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्ले निर्देशन दिइएको छ ।