पु.समाचार

कोरोना नियन्त्रणमा सरकारी अभियान अन्तर्गत आजदेखि सबै अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं । आजदेखी नेपालबाट हुने अन्तराष्ट्रिय उडान सबै बन्द हुने भएका छन् । कोरोना भईरस संक्रमण रोकथामका लागि सरकारी अभियान अन्तर्गत सरकारले आज (आईतबार) देखि अन्तराष्ट्रिय उडानमा रोक लगाउने भएको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका सन्दर्भमा राष्ट्रका नाममा गरेका सम्बोधन अनुसार सरकारले आज अर्थात् चैत ९ गतेदेखि १८ गतेसम्मका लागि नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरेको हो । तर आन्तरिक अर्थात् देशभित्रैका हवाई उडान भने हुनेछन् ।

यस्तै भोलि चैत १० गतेदेखि देशभर लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन सञ्चालनमा सरकारले रोक लगाउँदै छ। तर छोटो दूरीका सवारीसाधन भने यथावत सञ्चालन हुनेछन् । लामो दूरीका गाडी बन्द हुने डरले नै उपत्यकाबाट घर जानेहरू अहिले धमाधम गइरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार एकै दिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका छन् ।
सम्बोधनका क्रममा राजपत्रमा उल्लेख अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने प्रधानमन्त्रीले घोषणा गरेका छन्।

यातायात अत्यावश्यक सेवाअन्तर्गत परे पनि कोरोना संक्रमण जोखिमका दृष्टिले अन्तर्राष्ट्रिय हवाई उडान र लामो दूरीका सवारीसाधन सञ्चालन बन्द गर्ने निर्णयमा सरकार पुगेको हो।