सुदूरपश्चिम

कोरोना भाइरस सङ्क्रमणः गड्डाचौकी बाहेकका सबै सीमा नाकामा आवतजावत बन्द

कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकीबाहेकका सीमानाका बन्द गरिएका छन् ।

आवतजावतका लागि प्रयोग हुँदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र पुर्नावासलगायत क्षेत्रका सीमा नाका बन्द गरिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको समन्वय समितिको बैठकले गड्डाचौकी नाकाबाहेकका नाकामा हुने आवागमनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो । गड्डाचौकी नाकामा गरिने स्वास्थ्य जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, सवारी साधनको आवतजावतलाई तत्काल रोक्ने र नेपाल भित्रिने सबै पैदलयात्रीको विवरण टिपोट गरी थप स्वास्थ्य सल्लाहपछि मात्र नेपाल भित्रिनसक्ने व्यवस्था मिलाउने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

बैठकले महाकाली अस्पतालको आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न र यसका लागि आवश्यक यन्त्र उपकरण तथा स्वास्थ्यकर्मीसमेत तयारी हालतमा राख्ने निर्णय गरेको उनले बताए ।

जिल्लाका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । यसका लागि सबै स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य कार्यालयले आवश्यकताअनुसार स्वास्थ्यकर्मीलाई कुनै पनि स्थानमा खटाउन सकिने निर्णय गरिएको छ । आपतकालीन अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने र जिल्लाभरका सबै एम्बुलेन्सलाई आलोपालोरुपमा चौबिसै घण्टा तयारी अवस्थामा रहने व्यवस्था स्वास्थ्य कार्यालय कञ्चनपुरले मिलाउने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

बैठकले कोरोना सङ्क्रमण रोकथामको कार्यका लागि गड्डाचौकी नाकासहित अन्य स्थानमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको विवरण र काम गरेको अवधिसमेत सम्बन्धित निकायले प्रमाणित गरी हरेक दिन अध्यावधिक गरी राख्ने, आलोपालो पद्धतिमा काममा लगाउने र अभाव हुन नपाउने गरी सबै निकायले योजना साथ जनशक्ति खटाउने निर्णय पनि गरिएको छ ।

त्यस्तै भीमदत्त नगरपालिका–४ स्थित सिएमए छात्रावास भवन र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्न सकिने गरी मर्मतसम्भार गरेर तयारी हालतमा राख्न आवश्यक बजेट व्यवस्थाका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ ।