पु.समाचार

बलात्कारको अपराधमा राजनलाई एघार वर्ष कैद सुनायो अदालतले फैसला

तनहुँ । जिल्ला अदालतले बलात्कारको आरोपित व्यास नगरपालिका–२ भोर्लेटार चोक निवासी ४२ वर्षीय राजन भनिने सेतनिधि पन्थलाई ११ वर्षको कैद फैसला गरेको छ । युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका पन्थलाई अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले आज उक्त फैसला गरेको हो ।

अदालतले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले बताए । उनका अनुसार पन्थ गत असार २० गतेदेखि नै पुर्पक्षका लागि थुनामा थिए । पन्थले गत जेठ २५ गते ऋषिङ गाउँपालिका–१ कोइदिममा छोरीलाई बलात्कार गरेको पीडितका अभिभावकले थाहा पाएपछि जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित पन्थलाई जेठ २६ गते नै दमौलीस्थित घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए।

कैदीबन्दी भेटघाट बन्द
सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कोरोना भाइरस ९कोभिड–१९० लाई मध्यनजर गर्दै कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको हो ।

कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले भने, “अत्यवश्यक अवस्थामा बाहेक प्रवेशमा रोक लगाइएको छ ।” अत्यावश्यक भेट्न आउनुपर्ने अवस्था भएमा अनिवार्यरूपमा मास्क लगाएर साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको उनले बताए ।

उक्त कारागारमा चारगुणा बढी कैदीबन्दी छन् । पैतीस जना क्षमताको उक्त कारागारमा कैदी ८० र थुनुवा ६६ गरी हाल १ं४६ कैदीबन्दी छन् । कारागार परिसरमा निर्माण गरिएको नयाँ बन्दीगृह हस्तान्तरण गरिए पनि सञ्चालनमा ल्याउन ढिलाइ भएका कारण गर्मी मौसम शुरुआतसँगै कैदीबन्दीले कठिनाइ भोग्नुपरेको उनले बताए । कारागार नजिक विद्युत्को थ्रीफेज नहुँदा सञ्चालन गर्न गाह्रो भएको छ । उनले भने, “विद्युत् प्राधिकरण कार्यालयसँग कुरा भइरहेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।”

क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राख्नुपर्दा उनीहरुलाई सुत्न र शौचालय जान समस्या हुने गरेको छ । कारागार परिसरमा निर्माण सम्पन्न गरिएको नयाँ बन्दीगृह सञ्चालनमा ढिलाइ भएका कारण कैदीबन्दीले सास्ती भोग्नुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताए ।