पु.समाचार

डिभिजन प्रमुख इन्जिनियर भट्टविरुद्ध अख्तियारको मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्रहीसँग घुस लिएको आरोपमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडी पाटनका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्टविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।

चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिएबापत सेवाग्रहीसँग रु एक लाख घुस लिएको आयोगले आरोप लगाएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट खटिइएको टोलीले निज भट्टबाट घुसबापतको रु एक लाख र स्रोत नखुलेको रु एक लाख गरी रु दुई लाख बरामद गरेको छ ।

यसैगरी आयोगले हालसाविक भिडाउने कामबापत सेवाग्रहीसँग घुस लिएको आरोपमा नापी कार्यालय बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्री र लेखापढी व्यवसायी प्रताप केसीविरुद्ध पनि आरोपत्रपत्र दायर गरेको छ । हालसाविक गर्ने क्रममा उनीहरुले सेवाग्राहीसँग रु ३५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।