पत्रपत्रिका

कोरोना संक्रमणको व्यवास्ता गर्दै कतार सरकारले पिर्ता पठायो २० नेपाली

काठमाडौं । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् ।

खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन ।

त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई पक्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ ।

यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन् । नेपाल सरकारले यसबारे सूचना प्रवाह गर्न दूतावासलाई पत्राचार गरेको थियो ।

सबैजसो खाडी मुलुकमा कार्यरत कामदारलाई जोखिम क्षेत्रमा नजान भन्दै क्वारेन्टाइनमा राखिएको छ । कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्रभित्रै क्वारेन्टाइन बनाएर राखिएको परराष्ट्र अधिकारीले बताएका छन् । उनीहरू क्वारेन्टाइनबाटै काममा आउने–जाने गर्छन् ।

खाडीका सबै मुलुकमा सुरक्षा व्यवस्था कडा गरिएको छ । विदेशी आउजाउमा रोक लगाइएको छ । साउदी अरेबियाले मुस्लिमको पवित्र स्थल मक्का मदिना जानेलाई रोक लगाइएको छ ।

नेपाली रहेका मुलुकमा कोही न कोही व्यक्तिमा कोरोनाको शंका भएपछि निकट रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

नेपाली कामदारलाई आफू बसेको देशको कानुनी व्यवस्थाबारे सेचत हुन जानकारी गराउन परराष्ट्रले खाडीलगायत सबै मुलुकमा रहेका नियोगलाई पत्राचार गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।

दूतावासले जतिसक्दो धेरै सूचना प्रवाह नै गरेर यसमा सचेतना अपनाउनुबाहेक अन्य विकल्प नरहेको पनि बताए ।

 

                                                                         अन्नपुर्णबाट लिएको