स्वास्थ्य

गोदावरीमा धमाधम चना र अण्डा वितरण

ललितपुर । गोदावरीकी सरिता सिलवाल हाल २९ वर्षकी भइन् । उनीमा अहिले पाँच महिनाको गर्भ छ । उनले दोस्रो पटक जन्म दिन लागेका हुन् । उनी यस पटक अच्चममा परेका छन् । गोदावरी नगरपालिका हाल वडा नं। ३ साविकको गोदावरीले लक्षित वर्गको पोषण अभिवृद्धि कार्यक्रम शुरुआत गरेसँगै उनी र उनीजस्ता महिलाका लागि यस वर्षदेखि धमाधम चना र अण्डा वितरण गर्न शुरु गरिएको हो ।

सरिताको गर्भ पाँच महिना लागेकाले उनीले भर्खरै वडाबाट एक क्रेट अण्डा पाएका छन् । अण्डा लिँदै उनले भने, “आर्थिक अवस्था कमजोर भएका महिलाका लागि वडाले प्रभावकारी काम गरिरहेको छ । यस्तो राम्रो कार्यक्रम आजभन्दा पहिले मैले कहीँकतै र कहिलै पनि सुनेको थिइन् ।” वडाले पहिलो पटक गर्भवती महिला र सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखी यस कार्यक्रम अघि बढाएको हो ।

अर्की २५ वर्षीया सीता सिलवाल अहिले पाँच महिनाको गर्भवती छन् । उनले पनि सरिताले जस्तै वडाबाट एक क्रेट अण्डा पोषणका लागि पाएकी छिन् । उनले हातमा अण्डाको क्रेट थाप्दै भने, “वडाले हामीजस्ता महिलाको स्वास्थ्यलाई ध्यानमा राखी अघि बढाएको कार्यक्रमले परिवारमासमेत थप सचेतना बढेको छ ।”

गोदावरी घर भएकी २७ वर्षीया विनु सिलवाल हाल आठ महिनाको गर्भवती छिन् । उनी गर्भवती भएको यो दोस्रो पटक हो । आफू गर्भवती रहेका कारण सरिता र सीताजस्तै उहाँले पनि वडाबाट भर्खरै एक किलो चना पाए । विगतमा गर्भवतीका लागि यस्तो कुनै पनि कार्यक्रम नरहेकाले घरका परिवारसमेत अच्चममा परेको उनले बताए । उनले भने, “वडाले मात्रै हैन नगरपालिकाभरिका सबै गर्भवती महिलाले यस्तो कार्यक्रममा भाग लिन पाउनु पर्नेछ ।

आफूलाई वडाले दिएकोे सुविधा अतुल्नीय छ । आफूले पाएको चनालाई उमारेर यसको दैनिक रस खानेछु । वडाले यस काम अघि बढाएसँगै हरेक घरका गर्भवती र सुत्केरीलाई पोषणको मात्र पुग्नुपर्छ भन्ने चेतना पनि बढेको छ ।” वडाले यस्तो सहयोगी कार्यक्रम गर्भवती महिलाका लागि हरेक महिना गरिदिए हुन्थ्यो भन्ने सिलवालको मत छ ।

वडाले आफ्ना नगरपालिकाभित्र रहेका गर्भवतीलाई चार चरणमा यस्तो सहयोग प्रदान गर्दै आएको छ । वडाले ‘फोर भिजिट’ कार्यक्रमअन्तर्गत चार महिनाका गर्भवतीलाई एक क्रेट अण्डा । छ, आठ र नौ महिनाको महिलालाई एक–एक किलो चना प्रदान गर्न शुरु गरेको वडा नं ३ की वरिष्ठ अनमी निरीक्षक माया भण्डारीले जानकारी दिए । उनले भने, “महिलाको मृत्युदर घटाउन र यहाँको स्वास्थ्य संस्थामा हरेक महिना नियमित जाँच गर्न आउने वातावरण सिर्जन गर्न यसले ठूलो सहयोग गर्नेछ ।” उक्त कार्यक्रम वडाका महिलाको स्वास्थ्य अवस्था सहजै थाहा पाउन सकिने सिलवालले बताए ।

वडाले आफ्नो क्षेत्रको शिशु कक्षमा बच्चा जन्माउने महिलाका लागि थप एक किलो चना दिने घोषणासमेत गरेको छ । नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेसँगै आफूहरुले यस कार्यक्रमलाई अघि बढाएको वडा नं। ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले बताए । उनले भने, “हाम्रो वडाका महिला यस कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुशी देखिन्छन् ।” वडा नं ३ बाट शुरु भएको यो कार्यक्रम विस्तारै अन्य वडामा पनि लागू गर्ने नगरपालिका उपप्रमुख मुना अधिकारीले जानकारी दिए ।