कृषि

आम्दानीको स्रोत बन्यो खोलाको खेती

नारायणपुर । खेतबारी वा खोलाको बगरमा गरिएको तरकारी खेतीपाती गरेको सबैलाई जानकारी होला तर बग्ने खोलामा गरिने खेतीका बारेमा धैरैलाई थाहा नहुन पनि सक्छ । दाङका अधिकांश खोलामा मौसमी तरकारी (साग) उत्पादन गर्ने गरिएको छ । यसरी बग्ने खोलामा उत्पादन गरिने भएकाले यसलार्ई ‘खोले साग’ भनिन्छ । तर ठाउँअनुसार यसको नाम भने फरकफरक हुने गरेको छ । कसैले यसलाई ‘सीम साग’ पनि भन्ने गर्दछन् ।

गर्मी मौसममा खेती गरिने सागबाट नै किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । साग रोपेको एक डेढ महिनामै उत्पादन लिन सकिने र एकपटक काटिसकेपछि पनि निरन्तर उत्पादन भइराख्ने हुनाले कृषकलाई पनि राम्रो फाइदा हुने गरेको छ । गर्मी मौसममा अन्य सागको उत्पादन खासै नहुने हुनाले यसको बजार राम्रो भएको किसान बताउँछन् । फागुनको अन्तिम सातादेखि यो साग बजारमा आउने गर्दछ । पूर्णरूपमा जैविक हुने भएकाले बजारमा खोले सागको माग धेरै नै रहेको कृषक नारायणी पुन बताए । घर छेउकै घोराहीको सेवार खोलामा उनले सागको खेती गरेका छन्। “अन्य तरकारी बिक्रीका लागि बजारसम्म पु¥याउनुपर्छ तर खोले साग किन्न ग्राहक खोलामै आउँछन्”, पुनले भने । रोगले पनि नसताउने, हेरचाह धेरै गर्नु नपर्ने भएकाले खोले साग खेती गर्ने गरेको उनले बताए । मौसममा मासिक आठदेखि १० हजारसम्मको व्यापार गर्ने गरेको पुनले बताए ।

जिल्लामा रहेका दर्जनौँ खोलामा यसरी नै खोले सागको खेती गरेको देख्न सकिन्छ । खोले सागको खेतीबाट हरेक दिन धेरैले आफ्नो दैनिक गर्जोसमेत टार्ने गरेका छन् । साग बिक्रीबाट दैनिक करिब एक हजार आम्दानी हुने कृषक जयसरी केसी बताए । अन्य खेती गर्नका लागि गर्मी मौसम अनुकूल नभए पनि खोले सागको खेतीले दैनिकी चलेको केसीको भनाइ छ । एक पटक रोपेपछि निरन्तर उत्पादन लिन सकिने भएकाले यसको खेती गर्ने किसान बढ्दै गएको केसीले बताए । “एक पटक काटेपछि खरानी तथा गाईभैँसीको गोबर मल प्रयोग गरी यसको उत्पादन बढाउँछौँ तर कसैले उत्पादन बढाउने नाममा युरिया मल प्रयोग गर्ने गरेका छन्”, केसीले भने । अहिले कटुवा खोला तथा चमै सोतामा मात्रै करिब ५० कृषकले यो साग रोपेको उनले जानकारी दिए । “साग खरिद गर्ने ग्राहक घरमै खोज्न आउछन्, २० रुपैयाँ मुठामा बिक्री गर्छौ केसीले भने ।

दाङमा उत्पादन हुने यो साग बुटवल, नेपालगञ्जलगायतका शहरमा समेत बिक्रीका लागि जाने गरेको कृषकको भनाइ छ । दाङको कटुवा खोला, सेवार खोला सङ्ग्राम खोला र अन्य थुप्रै खोलामा यस प्रकारको साग उत्पादन हुन्छ । कात्तिक, मङ्सिरमा रोपेको साग फागुन महिनादेखि बिक्री वा खानका लागि तयार हुन्छ भने वैशाख, जेठसम्म निरन्तर उत्पादन हुने गरेको छ ।