स्वास्थ्य

कोरना भाइरसबाट बच्न जागरणमूलक सफाइ अभियान

काठमाडौं । वाग्मती सफाइ महाअभियानलाई कोरना भाइरसविरुद्ध जनचेतना फैलाउन उपयोग गर्न थालिएको छ । सफाइ महाअभियानको ३५७औँ हप्तामा आज सिनामङ्गल पुल क्षेत्र वरपर घरआँगन, सडक, नदीलगायत स्थल सफा राखौँ भन्दै जागरण गरिएको छ ।

तीनवटै सुरक्षा निकायलाई गत हप्ताको सफाइ अभियानदेखि नै नआउन भनिएको छ । सुरक्षा निकाय भाइरसविरुद्ध लड्ने क्रममा अन्यत्र व्यस्त हुनुपर्ने भएकाले नआउन भनिएको हो । धेरै मानिस जम्मा हुँदा कोरना भाइरसका कारण सङ्क्रमण फैलन सक्ने भएकाले निश्चित अभियानकर्मी मात्र जम्मा भएर चेतना फैल्याइएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । आजको जागरणमूलक सफाइ अभियानमा १४ संस्थाका १२० अभियानकर्मीको सक्रियता थियो ।

सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए । यसैगरी चक्रपथ पश्चिम खण्ड सफाइ अभियानको १३७औँ हप्तामा काठमाडौँ महानगरपालिका–१३ र नागार्जुन नगरपालिका–४ क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गरियो । सफाइसँगै गरिएको जागरणमूलक कार्यक्रममा शुभेच्छा अन्तरराष्ट्रिय अस्पतालका प्रबन्ध निर्देशक डा होमप्रसाद अधिकारीले कोरनाका कारण नेपालमा धेरै डराउनुपर्ने अवस्था नभए पनि सचेत हुन आवश्यक रहेकामा जोड दिए।

सो अवसरमा कोरना भाइरसको सङ्क्रमणको त्रासलाई उपयोग गर्दै बजारमा कालोबजारी, कृत्रिम अभाव एवं मूल्यवृद्धिविरुद्ध विरोधसमेत प्रदर्शन गरिएको सफाइ अभियानका संयोजक ताराबहादुर कुँवरले बताए । केही हप्ता यस्तै कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए। सफाइ अभियानका क्रममा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, चक्रपथको उत्तरखण्ड, मनोहरा, वाग्मतीको तिलगङ्गा र सुन्दरीघाट, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि कोरनाविरुद्ध जनचेतनामूलक अभियान गरिएको थियो ।

यी सफाइ अभियानमा निश्चित अभियानकर्मी मात्र उपस्थित भई जागरणमूलक कार्यक्रम गरिएको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशभरका १०६ भन्दा बढी स्थानमा चेतनामूलक सफाइ अभियान चलिरहेको छ । देशका अन्य स्थानमा सञ्चालन भइरहेको सफाइ अभियानले पनि चेतनामूलक कार्यक्रम गरी कोरनाविरुद्ध बच्न जागरण फैलाउने महाअभियानले जनाएको छ ।