अन्तर्राष्ट्रिय

भारतमा कोरानोबाट दोस्रो मृत्यु, विश्वभर १ लाखभन्दा बढी संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड १९) को कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

भारतमा यसअघि अर्का एक जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । नयाँ दिल्लीमा अरु छ जना कोरोना भाइरस संक्रमित छन् ।

गत बिहीबार भारतमा कोरोना संक्रमित पहिलो व्यक्तिको मृत्यु भएको घोषणा गरिएको थियो । उक्त व्यक्तिको गत मंगलबार कर्नाटकमा मृत्यु भएको जनाइएको छ । पहिलो मृत्यु हुने व्यक्ति पनि ७६ वर्षीया महिला नै रहेको अधिकारीले बताएका छन् । ती व्यक्ति साउदी अरबको भ्रमण गरेर आएकी थिइन् ।

भारतमा अहिले कोरोना भाइरसको कारण दुईजनाको मृत्यु र संक्रमित हुनेको संख्या ८३ पुगेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियामा उल्लेख गरिएको छ ।

कारोना भाइरसको कारण विश्वभरी मृत्यु हुनेको संख्या ५ हजार ४ सय २९ पुगेको छ । यस्तै १ लाख ४५ हजार ३ सय ७४ मानिसहरु भाइरस संक्रमित भएका छन् ।