समाचार

नेपाल-भारत आउन जान अब चारओटा नाकामात्र प्रयोग गर्न सकिने

काठमाडौं । छीमेकी मुलुक भारतमा कोरोना भाइरस तिव्र रुपमा फैलन थालेपछी नेपाल सरकारले नेपालमा कोरोना भित्रन नदिन नेपाल-भारत सिमानाको चारओटा नाका मात्र प्रयोग गरी अन्य नाकाहरु बन्द गरेको छ ।

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको हो । आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आउन जान उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् ।

नेपाल-भारत आवत-जावत गर्ने अन्य नाकाहरु भने बन्द हुनेछन् । भारतको गृहमन्त्रालयका एक अधिकृत अनिल मलिकका अनुसार भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने छ । तर तेस्रो मुलुकका नागरिकहरु भने आउन जान  पाउने छैनन् ।

प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ । कोरोना भाइरसबाट दुई जनाको मृत्यु र ८२ जना संक्रमित भएपछि भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको छ । नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका २० नाका बन्द गर्ने निर्णय भारतले गरेको छ ।

भारत–बंगलादेश रेल र बस सेवा १५ अप्रिलसम्मका लागि बन्द गरिएको छ । सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश बन्देज गरिएको छ । भारतले पर्यटक भिसा बन्द गर्ने र कोरोनाबाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा उडान रोक्ने निर्णय यसअघि नै गरिसकेको छ ।