पु.समाचार

दिलप्रति महाविरको शालीन उत्तरः भन्छन्, नेपालले कोरोना बारे पत्ता लगाउनपर्छ भन्नु गर्वको कुरा

काठमाडौं । आविष्कार केन्द्रका अध्यक्ष डा महाविर पुनले दिल निशानी मगरले गरेको सामाजिक सञ्जालको गालीलाई गालीको रुपमा भन्दापनि सुझावको रुपमा लिएका छन् । आविष्कार केन्द्रले आर्थिक रुपमा भ्रष्टाचार गरेको समेत हुनसक्ने भन्दै गरिएका स्टाटस् र कमेन्टबारे महाविरले सामाजिक सञ्जालमा कसैलाईपनि नकारात्मक रुपमा गाली नगर्न आग्रह गर्दै संसारले नै अरबौं डलर खर्च गर्दापनि पत्ता लगाउन नसकेको कोरोना उपचारको बिषय राष्ट्रिय आविष्कार केन्द्रले खोजोस भन्नु राम्रो कुरा भएको भनेका छन् । महाविरले अत्यन्तै जरुरी सूचनाको रुपमा सामाजिक सँजाल फेसबुकमा राख्दै, ‘कोरोना भन्ने मात्तिएको भाइरसको औषधीको आविष्कार गर्ने काम राष्ट्रिय आविष्कार केन्द्रले नै गर्नु पर्छ भनेर भाइले ठोकुवा गरिदिएका छन्। यो हाम्रो देशको लागि अत्यन्तै ठुलो भाग्य्को कुरा हो’ भनेका छन् ।

उनले बिष्तृत रुपमा यसो भनेका छन्ः

अत्यन्तै महत्वपूर्ण सूचना !!!

तलको फोटोमा लेखिएको ज्यादै खुसीको खबर पढेर कृपया सम्पूर्ण नेपालीहरुले भाई दिल निसानी मगर लाई धेरै धेरै धन्यबाद दिनुहोस। किन भने भाईले युरोप तिरै बसेर गहिरो ध्यानदृष्टि गर्दा उनको तेस्रो आँखाले सारा नेपालीको कठोर परीश्रम र पसिना बाट बल्ल बल्ल बन्दै गरेको राष्ट्रिय आविष्कार केन्द्र लाई देखेछन। देखेको मात्र कहाँ हो र ? उनको अन्तरात्माले यस केन्द्रको क्षमता पनि अद्भुत नै भएको थाहा पाएछन्। अब केहि होला जस्तो छ।

त्यसैले उनले अमेरिका, चीन, जापान, बेलायत, जर्मनी, कोरिया जस्ता थुपरै अति बिकसित भनिने देशहरुमा भएका र संसार कै ठुला ठुला युनिभर्सिटी र अनुसन्धान केन्द्रहरुमा संसार कै नामुद बैज्ञानिकहरुले बिगतको चार पांच महिना देखि अरबौं डलर खर्च गरि मरी मेट्दा पनि आविष्कार गर्न पटक्कै नसकेको कोरोना भन्ने मात्तिएको भाइरसको औषधीको आविष्कार गर्ने काम राष्ट्रिय आविष्कार केन्द्रले नै गर्नु पर्छ भनेर भाइले ठोकुवा गरिदिएका छन्। यो हाम्रो देशको लागि अत्यन्तै ठुलो भाग्य्को कुरा हो।

यसरी हाम्रा दुई ओटा आँखाले प्रष्टै संग देखिने जाबो बाँदर र जंगली जनावर तर्साउने उपकरण बनाउनुको सट्टा शक्तिशाली सुक्ष्मदर्शक यन्त्रले पनि देख्न नसकिने पापी भाइरसको औषधि पत्ता लगाउने बरदान र अधिकार दिलदार भाई दिल निसानी मगरले कहिँ पनि केहि काम नपाएको म र राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्ने सबै भाई बहिनीहरु लाई दिएको हुनाले कृपया सम्पूर्ण नेपाली सहित कोरोना भाइरसले सातो उडाई दिएको बिश्व भारीका सम्पूर्ण ७ अर्ब मनुष्यहरुले धेरै धेरै नम्र सेवा ढोग गर्न हुन अनुरोध गर्दछु। कृपया कसैले पनि गाली गलौज पटक्कै नगर्नु होला किन भने हामी नेपालीहरुको भलो चिताउने महान व्यक्तिहरुलाई गाली गर्ने साह्रै नै नराम्रो बानी छ। सायद म पनि मगर नै भएको हुनाले दिल निसानी मगर भाईले मलाइ यस्तो कृपा गरेको पनि हुन सक्छ। धन्यबाद।

 

यो पनि पढ्नुस्

महाविर पुनले उठाएको रकम दुरुपयोगको आशंका छ, अख्तियारले छानविन गरोस्ः दिल निशानी