आर्थिक

बुटवलमा मेगा बैंकको भवन उद्घाटन

काठमाडा । मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको बुटवलमा रहेको आफ्नो जग्गामा निर्मित भवनको उद्घाटन गरेको छ ।

भवन उद्घाटनको अवसरमा बिहीबार मिलनचोक स्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको हो । यसै अवसरमा बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरिएको छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार एक समारोहका बीच भवनको उद्घाटन गरेका हुन् । मेगा बैंकले आफ्नै भवनबाट सञ्चालन हुने गरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धन्यवाद व्यक्त गरे । अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताए ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बुटवलमा मेगा बैंकले आफ्नै जमिनमा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याएकोमा खुसी लागेको बताए । मेगा बैंकको पञ्चवर्षिय रणनीतिक कार्ययोजना अनुसार आफ्नै भवन निर्माण कार्यलाई अन्य प्रदेशमा पनि तीव्रता दिइने उनले बताए । यस क्षेत्रका जनताको बैंकिङ पहुँच वृद्धि गर्न प्रदेश सरकारसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै अध्यक्ष शाहले रोजगारमूलक एवं उत्पादनमूलक क्षेत्रमा गरिने लगानीको पनि बढोत्तरी गर्ने लक्ष्य रहेको बताए ।