समाचार

राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइइ« लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण गरिएको छ ।

चालिस मेगावाट क्षमताको आयोजना कार्यालय र कर्मचारी आवासका लागि विसं २०६७ मा १० भवन निर्माण शुरु गरेको थियो । पहिलेको ठेकेदार कम्पनीले अधकल्चो बनाएर छाडेको भवन उसँग सम्झौता रद्द गरेर नयाँ ठेक्का प्रक्रियाबाट पूरा गरिएको रघुगङ्गा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख राजकुमार श्रेष्ठले बताए ।

गोरखा कन्ट्रक्शन एण्ड स्वच्छन्द जेभीसँग विसं २०६७ कात्तिक ४ गते रु ११ करोड १० लाख ६७ हजारमा ठेक्का सम्झौता भएको थियो । अठार महिनामा भवन बनाइसक्ने सम्झौता गरेका दुई कम्पनीको आन्तरिक द्वन्द्वले ढिलासुस्ती भएपछि विसं २०७५ कात्तिक ९ गते रद्द गरिएको थियो ।

चार भवन बनाएको ठेकेदारले एउटा भवनको जगसमेत हालेको थिएन । सिभिल महाशाखा प्रमुख श्रेष्ठका अनुसार अधुरा पाँच भवन बनाउन दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको थियो । नयाँ ठेक्काबाट झ्यालढोका राख्ने, टायल बिछ्याउने, वायरिङ, पलम्बिङसम्बन्धी काम गरेको हो । रु एक करोड २७ लाखमा सम्झौता गरेको जम्बुदीप कन्ट्रक्शनले तीन र रु ७९ लाख ७२ हजारमा सम्झौता गरेको दावा–त्रिशक्तिले दुई भवन सकेर हस्तान्तरण गरेका हुन् ।

जम्बुदीपले लक्ष्यभन्दा एक महिनाअघि नै काम सकेको थियो । रु एक करोड ३५ लाख लागतमा एक÷एकतले दुई स्टोर र चमेना गृहको भवन निर्माणको ठेक्का मूल्याङ्कनको चरणमा रहेको श्रेष्ठले बताए । भवन निर्माणमा ढिलाइ हुदा कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडको कार्यालय बेनी र काठमाडौँबाट सञ्चालन गरिएको थियो । भवन बनेपछि सबै कार्यालय पिप्लेबाटै सञ्चालन गरिएको कम्पनीका प्रशासन प्रमुख मदन गिरीले बताए । आयोजनाको सुरुङ, विद्युत्गृह र बाँध निर्माणको काम तीव्रगतिमा अघि बढेको छ । विसं २०७४ मङ्सिर ५ गते रु छ अर्बमा सम्झौता गरेको भारतीय जेपी एशोसिएट्सले सिभिल निर्माणको कामलाई तीव्रताका साथ अघि बढाएको जनाएको छ ।

भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋणमा निर्माण गर्न लागिएको आयोजनाको २६ महिनाको भौतिक प्रगति २२ प्रतिशत पुगेको छ । ठेक्का अवधि ४५ महिनाको हो । घुमाउने तालबाट दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाइएको छ । पहुँचमार्गमा नाली र पर्खाल निर्माण भइरहेको छ । बाँधतर्फ जाने बाटोमा पर्ने बुक्लस्थित रघुगङ्गा नदीमाथि बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । झिँ र दग्नामको सीमामा बाँध बन्ने आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । पिप्लेको तिल्केनीचौरमा विद्युत्गृह बन्नेछ ।

भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल) सँग एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा आयोजनाको इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । कम्पनीको अवधारणा र इञ्जिनीयरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट बनाउन लागिएको हो । रघुगङ्गा हाइड्रो लिमिटेड विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।