पत्रपत्रिका

साँघुरो सडकः सवारी चाप, काठमाडौंको जनजीवन समस्याग्रस्त कतिन्जेल ?

काठमाडौं । साँघुरा सडकमा सवारी चापका कारण राजधानी काठमाडौंको जनजीवन समस्याग्रस्त बनेको छ । बढ्दो सहरीकरण र जनसंख्याको दरमा सडक निर्माण र विस्तार हुन नसक्दा दैनिक घन्टौँसम्म सवारी जाम हुने समस्या छ । सडक विस्तार ठप्प भइसक्यो, तर सवारीसाधन थपिने क्रम भने बढेको बढ्यै छ ।

बागमती अञ्चलमा पर्ने उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर तथा आसपासका रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा ०७५ सम्म १२ लाख ५८ हजार दुई सय ५८ सवारीसाधन दर्ता भएका छन् ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत चालू आर्थिक वर्षमा ९१ हजार तीन सय ३८ वटा गाडी दर्ता भएका छन् । यस आधारमा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका आठ जिल्लामा मात्रै १३ लाख ४९ हजार ६ सय एक सवारीसाधन दर्ता भएका छन् ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा मात्रै अहिले १२ लाख गाडी गुड्छन् । उपत्यका भित्रिने र बाहिरिने गाडीको संख्या पनि दैनिक १५ देखि २० हजारसम्म छ । दैनिक एक लाखसम्म यात्रुहरू आवतजावत गर्छन् । तर, उपत्यकामा अहिले सडक विस्तार भने हुन सकेको छैन ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार उपत्यकामा कालोपत्रे एक हजार एक सय २४, गाभेल नौ सय १५ र कच्ची तीन सय ९१ सहित दुई हजार चार सय ३० किमि सडक रहेको छ । त्यसमध्ये रणनीतिक सडक चार सय ९८ किमि मात्रै छ ।

महिनामै थपिए ९१ हजार सवारीसाधन

काठमाडौं उपत्यकासहितका आठ जिल्लामा दैनिक सरदर पाँच सय सातवटा गाडी थपिन्छन् । चालू आर्थिक वर्ष ०७६र७७ का ६ महिनाको अवधिमा ९१ हजार तीन सय ३७ सवारीसाधन दर्ता भएका छन् । यस आधारमा अहिले दैनिक पाँच सय सातवटा गाडी थपिने तथ्यांक छ ।

यातायात व्यवस्था विभागका अनुसार आव ०६४र६५ मा दैनिक एक सय १७ वटा अर्थात् ४२ हजार आठ सय ८५ सवारी दर्ता भएका थिए । तर, आव ०७०र७१ पछि भने गाडी थपिने दर झन्डै दोब्बरले बढेको छ ।

आव ०७०र७१ मा ६७ हजार चार सय ४९ सवारीसाधन दर्ता भए । त्यतिवेला दैनिक सवारी दर्ता दर एक सय ८४ थियो । तर, त्यसको पाँच वर्षपछि यो संख्या झन्डै दोब्बरले वृद्धि भएर दैनिक तीन सय ५४ पुगेको छ । विभागका निर्देशक तीर्थराज खनालका अनुसार आव ०७४÷७५ मा एक लाख २९ हजार पाँच सय ५७ वटा गाडी दर्ता भएका थिए ।

मोटरसाइकल मात्रै १० लाख ७२ हजार

विभागले ०४६ सालमा सवारी दर्ता सुरु गर्दा एकै वर्ष ३४ हजार ६ सय ६ वटा सवारी दर्ता भएका थिए । तर, ०४७र४८ मा सवारी दर्ता संख्या पाँच हजार पाँच सय २७ मा झ(यो । त्यसपछिको करिब ३० वर्षमा सवारी दर्ता संख्या कहिल्यै ओरालो लागेको छैन ।

दर्ता भएकामध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । बागमती अञ्चलका आठ जिल्लामा दर्ता भएका १३ लाख ४९ हजारमध्ये मोटरसाइकल मात्रै १० लाख ७२ हजार आठ सय ६९ छन् ।

यस्तै, बस १३ हजार सात सय ४१, मिनिबस १४ हजार एक सय १०, ट्रक १३ हजार पाँच सय सात, डोजर ११ हजार नौ सय ६०, पिकअप २६ हजार ६ सय ७४, माइक्रोबस चार हजार ४२, इ–रिक्सा २६ हजार चार सय ६६, टेम्पो तीन हजार ६ सय ६, एम्बुलेन्स सात सय ४० र कूटनीतिक नियोगका गाडी चार सय १० वटा छन् ।

संघीय ढाँचामा सेवा प्रवाह गर्न थालेपछि यातायात तथ्यांक व्यवस्थापनसमेत प्रभावित बनेको छ । यातायात व्यवस्था कार्यालयहरू प्रदेश सरकारअन्तर्गत रहेकाले यातायात व्यवस्था विभागसँग सवारी दर्ताको तथ्यांक नरहेको विभागका निर्देशक खनाल बताउँछन् ।

हाल बागमती प्रदेशअन्तर्गत काठमाडौंको यातायात व्यवस्था कार्यालय गुर्जुधाराले माघ मसान्तसम्म ६६ हजार एक सय ८४ वटा दुईपांग्रे सवारीसाधन दर्ता गरेको छ । एकान्तकुनामा चालू आवको पुस मसान्तसम्म ११ हजार नौ सय ३६ सवारी दर्ता भएका छन् भने हेटौँडामा १३ हजार दुई सय १३ वटा सवारी दर्ता भएका छन् ।

सडक विस्तार गर्ने ठाउँ छैन स् सापकोटा

काठमाडौं, ललितपुर र भक्तपुरका १० वटा सडक विस्तार गर्न उपत्यका सडक विस्तार आयोजनाले ०७२ यता डेढ वर्षदेखि अढाई वर्षभित्र सक्नेगरी ठेक्का लगायो । काठमाडौंका सडकलाई २२ मिटर तथा ललितपुर र भक्तपुरका सडकलाई २० मिटर चौडासहित कालोपत्रे गर्ने योजना थियो ।

तर, पटक–पटक म्याद थप भइसक्दासमेत सडक विस्तार हुन सकेको छैन । आयोजनाले अधिकांश सडक विस्तार नै नगरी यथावस्थामै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको छ ।सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटा भन्छन्, ‘काठमाडौंमा सडक विस्तार रोकिएको वर्षौं भइसक्यो, अब विस्तार गर्ने ठाउँ पनि छैन ।

विभागले अहिले मुख्य सडक मात्रै मर्मत सम्भार र संरक्षण गर्दै आएको उनले बताए । ‘मुख्य सडक हामीले रेखदेख गर्छौँ, अरू सबै काम प्रदेश र स्थानीय तहको हो, हामीसँग ती सडकको तथ्यांकसमेत छैन,’ उपमहानिर्देशक सापकोटाले भने ।

विभागकाअनुसार उपत्यकामा हाल चार सय ९८ किमि रणनीतिक सडक ९२२ मिटरका० छन् । काठमाडौंमा ०७१ यता ६७ किमि मात्रै रणनीतिक सडक थपिएको छ । यस्तै, ललितपुरमा चार किमि र भक्तपुरका ३० किमि सडक थपिएको उपमहानिर्देशक सापकोटाले जानकारी दिए ।

 

                                                                                      नयाँ पत्रिकाबाट लिएको