पर्यटन/संस्कृति

ठूला होटलभित्र यौनधन्दा चलाउँदै आएका होटल रेष्टुरेष्टमा छापा, १६ रङ्गेहात पक्राउ

भक्तपुर । भक्तपुरका विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरबाट यौन गतिविधि गरेको अभियोगमा प्रहरीले आज छापा मारेर १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातीको टोलीले पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरमा एकैपटक छापा मारी अनैतिक कार्य गर्दै गरेको अवस्थामा आठ पुरुष र आठ महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

जगाती क्षेत्रका होटल तथा रेष्टुरेष्टमा छाडा यौन गतिविधि भइरहेको गुनासो आएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जोशीले बताए । अरनिको राजमार्ग आसपासमा खुलेका केही होटलजन्य व्यवसायमा कानूनविपरीतका गलत कार्य हुँदै आएको गुनासो बढेपछि प्रहरीले छापा मारेको बताएको छ ।

नियन्त्रणमा लिएका महिला तथा पुरुषलाई प्रहरी सामाजिक मनोपरार्मशसमेत दिएको र उनीहरुलाई पहिलोपटक चेतावनी दिएर छाडिने तयारी गरेको प्रनाउ जोशीको भनाइ छ । प्रहरीले अरनिको राजमार्ग खण्डकै ठूला होटल र ठूला होटलभित्र कटेज बनाएर यौनधन्दा चलाउँदै आएका होटल रेष्टुरेष्टमा भने छापा नमार्ने गरेको गुनासो स्थानीयवासीको भनाइ छ ।