समाचार

मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने २ चालक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले मापसे र लागुऔषध सेवन गरी सवारी चलाउने २७ वर्षीय सविन थापामगर र २५ वर्षीय केशर नेपालीलाई आज छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थापामगर मादक पदार्थ सेवन गरी बा२ख ४४६० नं.को टिपर चलाउँदै गरेको अवस्थामा र नेपाली लागुऔषध गाँजा सेवन गरी बा१ख २७६८ नं.को माइक्रोबस चलाउँदै गरेको अवस्थामा पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

मापसे गरी टिपर चलाएका थापामगर चन्द्रागिरि नगरपालिका–१५ मा उत्तम राउतको घरमा क्षति पु¥याएर फरार रहेको अवस्थामा पक्राउ गरिएको श्रेष्ठले बताए । गाँजा सेवन गरी माइक्रोबस चलाउने नेपाली तनहुँबाट यात्रु बोकेर काठमाडौँ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नेपालीको साथबाट १५ ग्राम गाँजासमेत बरामद गरेको छ ।

पक्राउ परेका थापामगरलाई मुलुकी अपराध संहिता-२०७४ र लागुऔषध सेवन गरी सवारी चलाउने नेपालीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान गरिरहेको छ ।