बाग्मती

विकट महाभारतमा प्राविधिक र मगर भाषा शिक्षा शुरु

काभ्रेपलाञ्चोक । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकामा कृषि प्राविधिक तथा मगर भाषा शिक्षा शुरु गरिएको छ । ‘एक पालिका एक प्राविधिक शिक्षालय’ कार्यक्रमअन्तर्गत बाली विज्ञानको प्राविधिक शिक्षा थालिएको हो ।

महाभारत पर्वत शृङ्खला (डाँडापारी) पारी अवस्थित महाभारत गाउँपालिका–१ धापस्थित भैरव माध्यमिक विद्यालयमा कृषि प्राविधिक शिक्षाको अध्यापन शुरु गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताए ।

“विटक गाउँपालिका मानिएको महाभारतले भौतिक पूर्वाधार मात्र नभई शिक्षामा लगानीले समाज रुपान्तरित हुँदै जान्छ, जनशक्ति उत्पादनले स्थानीयलाई सहज हुन्छ”, उनले भने । उनका अनुसार प्राविधिक शिक्षालयको शुरुआती चरणा ४२ विद्यार्थी अध्ययनरत छन् ।

महाभारतमा प्राविधिक शिक्षालय स्थापना भएपछि छिमेकी खानीखोला गाउँपालिका तथा सिन्धुलीको ध्याङ्लेक र मरिण गाउँपालिकाका विद्यार्थीलाई समेत सहज भएको बताइएको छ । शिक्षालयको यसै साता अध्यक्ष जिम्वाले शुभारम्भ गरेका हुन् ।

यसैगरी, महाभारत गाउँपालिकामा स्थानीय मगर सङ्घको सहकार्यमा मगर भाषा शिक्षा पठनपाठन शुरु गरिएको छ । सात वडामा बिहान र बेलुका दुई घण्टा कक्षा सञ्चालन हुनेगरी एकैसाथ मगर भाषा क्षिक्षा शुरु गरिएको सङ्घका अध्यक्ष हस्तबहादुर दर्लामीले बताए ।

“मगर समुदायको भाषा, संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले भाषा शिक्षा शुरु गर्यौँ”, उनले भने । वडाको पायक पर्ने स्थानमा मासिक २६ दिन कक्षा सञ्चालन गर्न तीन शिक्षकका लागि गाउँपालिकाले सहयोग गरेको छ ।

अन्य भाषा प्रवद्र्धन गर्न शिक्षा प्रदानका लागि सहयोग गर्दै जाने गाउँपालिका अध्यक्ष जिम्वाले जानकारी दिएका छन् । पछिल्लो जनगणनाअनुसार गाउँपालिकामा कूल जनसङ्ख्याको २१ दशमलव २२ प्रतिशत मगर समुदायका बासिन्दा रहेका छन् ।