शिक्षा

राष्ट्र निर्माण गर्ने योग्य नागरिक उत्पादन गर्ने मुख्य थलो विद्यालय: मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्ध मुलुक निर्माणका लागि बालबालिकालाई शिक्षामा उचित अवसर दिइनुपर्नेमा जोड दिएका छन् ।

अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कूलको आज यहाँ आयोजित २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले राष्ट्र निर्माण गर्ने योग्य र सक्षम नागरिक उत्पादन गर्ने मुख्य थलो विद्यालय भएकाले विद्यालयले नै विद्यार्थीलाई हरेक क्षेत्रमा उचित अवसर दिनुपर्ने बताए ।

सक्षम नागरिक उत्पादन गर्न यस विद्यालयले ठूलो योगादन दिएको स्मरण गर्दै उनले आगामी दिनमा पनि विद्यालयबाट सोही आशा गरेको बताए ।

सोही विद्यालयका अभिभावक तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अक्सिडेन्टल स्कुलले अत्यन्त न्यून शुल्कमा पनि गुणस्तरीय शिक्षा दिएको भन्दै सराहना बताए । भूकम्पबाट प्रभावित विद्यालयको पुनःनिर्माण आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उनले भौतिक संरचनामा विद्यालय कहिल्यै पछि पर्न नहुने बताए ।