पु.समाचार

मौसमवीद भन्छन्ः आज पनि वर्षा र हिमपातको सम्भावना छ

काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीका कारण शुक्रबार आज पनि वर्षा र हिमपातको सम्भावना छ ।

देशका पश्चिमी क्षेत्रमा दिउँसो मेघगर्जन र हावाहुरीसहित हल्का बर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार पश्चिमी भेगको हिमालदेखि तराईसम्म नै मौसम बदली भई हल्का वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भेगमा दिउँसो हिमपात हुनेछ । आज पश्चिमी भेगमा मात्रै देखिने न्युन चापीय प्रणालीको असर शनिबारदेखि मध्य र पूर्वी क्षेत्रमा पनि देखिने महाशाखाले जनाएको छ ।

स्थानीय वायुका कारण मध्य र पूर्वी पहाडी भेगमा शुक्रबार दिनभर मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद बासीले जानकारी दिइन्। काठमाडौं उपत्यकाको मौसम सामान्यतया सफा रहनेछ ।

पूर्वी र मध्य तराईको मौसम पनि आज सफा रहने छ। शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ७ दशमलब २ डिग्री सेल्सियस मापन भएको थियो । दिउँसो तापक्रम बढेर २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।