आर्थिक

महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी, परिचयसहित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रममा ढकालले आगामि चैत्रमा हुने महासंघको ५४औं वार्षिक साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष छन् ।

कार्यक्रममा बोल्दै उनले आफू सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो र मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, उनले भने ।
“तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु,” कार्यक्रमका बोल्दै उनले आफ्नो प्रतिवद्धता व्यक्त गरे । राज्य–निजी क्षेत्रबीचको सहकार्यले मात्र देशमा सम्मृद्धि ल्याउन सहयोग पुग्ने बताउँदै उनले त्यसका लागि आफूले पहल गर्ने बताए ।

साथै उाले निजी क्षेत्रका समस्या समाधान गर्न, महासंघ र महासंघको सचिवालयलाई अझ बलियो र सबल बनाउन आफू अब आउने अध्यक्षसँग काँधमाकाँध मिलाएर अगाडि बढ्ने बताए । “महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । जिल्ला नगर तथा वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो ।,”उनले भने ।

कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पूर्व उपाध्यक्षहरु, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, जिल्ला नगर तथा वस्तुगत संघका अध्यक्षलगाएत निजी क्षेत्रको ठूलो उपस्थिति रहेको थियो ।

चन्द्रप्रसाद ढकालको परिचय
बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति छन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरिसकेका प्रतिष्ठीत ब्यक्ती हुन् ।

उनी  आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन् ।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ । 

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हन् ।

समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हन् । उनी हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन् ।