बाग्मती

भ्रमण वर्ष २०२० लाई लक्षित गरी मुढेमा हिल स्टेशन निर्माण गरिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेशन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले वाग्मती प्रदेश सरकारको रु आठ करोड ८५ लाख अनुदान सहयोगमा निर्माण गर्न लागेको हो ।

दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाको अध्यक्ष कमल नेपालले बताए । कूल ४० रोपनी क्षेत्रफलमा निर्माण गरिने सो स्थानमा बाल उद्यान, वनभोजस्थल, सामाजिक लज तथा बगैँचासमेत निर्माण गरिने छ ।

समुद्री सतहबाट २५०० मिटर उचाइमा पर्ने उक्त स्थानबाट नजिकै पर्ने दोलखाको सैलुङ, कालीञ्चोक मन्दिर, गौरी शङ्कर तथा सिन्धुपाल्चोकको जुगल हिम शृङ्खला दार्जे लाक्पालगायत देख्न सकिन्छ । त्यसैगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा तथा काभ्रे जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपाली तेञ्जिङ नोर्गे सन् १९५३ मा त्यही बाटो भएर सगरमाथा आरोहणका लागि गएका थिए । उनीहरु सोही स्थानमा बास बसेको भन्नेसमेत स्थानीय वृद्धले बताएका छन् । उक्त हिल स्टेशनको वाग्मती प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरणमन्त्री अरुण नेपालले हालै शिलान्यास गरेका थिए ।