आर्थिक

भद्रपुर हुलाक बचत बैंकको पूँजी, तीन करोड

भद्रपुर । झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पूँजी हाल रु तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैंकमा सरकारी कर्मचारीको रु दुई करोड र अन्यको रु एक करोड गरी रु तीन करोड पूँजी भएको हो ।

हुलाक कार्यालयकै भुइँतलामा बैंकको काउन्टर छ । सर्वसाधारण ग्राहकलाई छ प्रतिशत ब्याज र ज्येष्ठ नागरिकलाई सात प्रतिशत ब्याज उपलब्ध हुने हुलाक बचत बैंक फाँटका इन्चार्ज रामहरि खतिवडाले बताएका छन् ।

एक हजार १०० ग्राहक रहेको बैंकमा रु ५०० देखि रु नौ लाखसम्म बचत गर्न सकिनेछ । कर्मचारीलाई बिनाधितो रु चार लाख ५० हजार ऋण दिने व्यवस्था गरिएको छ । मासिक तलबबाट कट्टी हुनेगरी कर्मचारीलाई ऋण उपलब्ध गरिएको उनले बताए ।

ऋण लिएवापत कर्मचारीले आठ प्रतिशत ब्याज बुझाउनुपर्नेछ । सो ऋण ७२ किस्ता अर्थात् ६ वर्षमा तिरिसक्नुपर्ने नियम छ । हुलाक ऐन, २०१९ अन्तर्गत हुलाक बचत बैंक नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३÷३४ देखि हुलाक बचत बैंकको स्थापना भएको हुलाक कार्यालय प्रमुख दामोदर घिमिरेको भनाइ छ ।

देशभरका ११७ हुलाक कार्यालयमा उक्त बैंक स्थापना भएको छ । सानो पूँजी एकीकृत गरी देश विकासमा टेवा पुर्याउने उद्देश्यका साथ हुलाक बचत बैंक सञ्चालन गरिएको हो ।

हुलाक सेवा विभागको आर्थिक सेवा तथा टिकट शाखाले देशभरका बैंकसम्बन्धी कार्य हेर्ने गर्दछ । खतिवडाका अनुसार बैंकमा रु एक करोड ६० लाख मुद्दतिमा र रु एक करोड ५२ लाख ऋण लगानी गरेको छ । बैंकले बाल बचतल गायतका खातासमेत सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

टिकट बिक्रीबाट आम्दानी

झापा जिल्ला हुलाक कार्यालयले टिकट बिक्रीबाट गत आर्थिक वर्ष २०७५÷७६ मा रु ४८ लाख ९८ हजार ९१५ आम्दानी गरेको छ । कार्यालय प्रमुख घिमिरेले हाल मासिक रु चारदेखि पाँच लाखसम्मको टिकट बिक्री भइरहेको बताए ।

उनका अनुसार अघिल्लो आव २०७४÷७५ मा रु ४५ लाख ५२ हजार ७९३ को टिकट बिक्री भएको थियो । सरकारले हुलाक कार्यालयलाई टिकटका लागि रु २० लाख बजेट दिने गरेको प्रमुख घिमिरे जानकारी दिएका छन् ।

सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा हुलाक टिकट अनिवार्य चाहिन्छ । जिल्लाका विभिन्न सरकारी कार्यालयमा कामका लागि आएका सेवाग्राहीले निवेदनमा टिकट अनिवार्य टाँस्नु पर्छ ।

जिल्ला प्रशासन कार्यालय झापाको ढोकैमा हुलाककै कर्मचारी बसेर टिकट बिक्री गर्दै आएका छन् । हुलाक कार्यालयले रु तीन, रु पाँच, रु १०, रु १५, रु २०, र रु ३० का दरका टिकट जारी गरेको छ । हुलाक कार्यालय झापाको १७ इलाका हुलाक छन् ।