खेलकुद

राईनो गोल्डकपको फाईनल खेल आजः पुलिस र आर्मी भिड्ने

काठमाडौं । पाचौं संस्करणको राईनो गोल्डकपको फाइनल खेल बुधबार (आज) हुँदैछ । नवलपुरमा हुने फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । मध्येबिन्दु मिनि रंगशालामा हुने फाइनल खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

विभागीय डर्बी भिडन्तमा दुवै टिम जित निकाल्दै सिजनको पहिलो उपाधि हात पार्न चाहन्छ । तर, दुवै टिम दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रने छन् ।

आर्मी युद्ध शाहीको कप्तानीमा खेल्नेछ । पुलिस भने हेम तामाङको कप्तानीमा मैदान उत्रने छन् ।

आर्मी यस सिजन दोस्रो पटक मोफसलको प्रतियोगिताको फाइनलमा पुगेको हो । आर्मी झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मछिन्द्रसँग पराजित भएको थियो । पुलिस भने यस सिजन पहिलो पटक फाइनल पुगेको हो ।

आर्मीले हिमालयन शेर्पा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आर्मीलाई फाइनल पुर्याउन सुदिल राईले ह्याट्रिक पुरा गरेका थिए ।

यता, पुलिस भने सेमिफाइनल खेलको २४ घण्टा नबित्दै फाइनल खेल्न लागेको हो । पुलिसले मंगलबार च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरेका थिए ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।