समाचार

बिप्लव निकट विद्यार्थि संगठनद्वारा देशैभरीका शैक्षिक संस्था बन्द

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले आज (बुधबार) देशभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको छ । विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले शैक्षिक हडतालको आह्वान गरेको हो।

क्रान्तिकारीले शैक्षिक हडतालको आह्वान गरेपछि विद्यालयले बिहानै म्यासेज पठाएर विद्यालय बन्द रहेको जानकारी दिएका छन् । विद्यालय बन्दका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

संगठनका काठमाडौं जिल्ला अध्यक्ष डि.बी शाहीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलगायत नेता कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा बुधबार देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको उल्लेख छ ।

फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौंबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विक पक्राउ परेका थिए ।