शिक्षा

जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तक

खलङगा । जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् ।

तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई वितरण गरेका हुन् । गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको जिम्मा दिएको थियो ।

विद्यालयले विद्यार्थीको सही विवरण पठाएअनुसार किताब खरिद गरेकाले यहाँका विद्यार्थीलाई खाली हात कक्षामा जान बाध्य नभएको सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताए ।

गाउँपालिकामा २७ सामुदायिक विद्यालयका पाँच हजार ५०० भन्दा बढी विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न विद्यालयलाई गाउँपालिकाले समयमै रकम उपलब्ध गराएको थियो ।

नयाँ शैक्षिकसत्र भर्ना यही फागुन १० गते समाप्त भएको र अब पढाइ नियमित हुने पालिकाको शिक्षा युवा तथा खेलकूद शाखाका सहसंयोजक दीपेन्द्रराज हमालले बताएका छन् ।

सदरमुकाममा रहेको चन्दननाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले किताब पसलबाट किताब खरिद आफैँ गर्छन् र विद्यालयले खरिद गरेको बिल पेश गरेपछि खरिद मूल्यअनुसार नगद भुक्तानी गर्दछ ।

यहाँका अरु पालिकाले पनि आफ्नो पालिकाभित्रका किताब पसल र सदरमुकाम खलङ्गामा गरेका किताब पसललाई विद्यालयको पाठ्यपुस्तक खरिदको जिम्मा दिएकाले विद्यार्थीले यो वर्ष समयमै पाठ्यपुस्तक पाएको पालिकाले जनाएको छ ।

जिल्ला फर्कँदै शिक्षक

जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएयता जिल्ला बाहिर गएका शिक्षक धमाधम जिल्ला फर्किँदैछन् । वार्षिक परीक्षापछि जाडो छल्न र जिल्ला बाहिरका शिक्षक बिदा मनाउन घर गएकाले आफ्नो कार्यस्थलमा फर्किएको कालिका निम्नमाध्यमिक विद्यालयका शिक्षक जयबहादुर बुढाले बताए ।

सदरमुकाम क्षेत्रमा पर्ने केहीबाहेक अन्य सबै विद्यालयका शिक्षक गत मङ्सिर अन्तिम साता जिल्ला छाडेर गएकाले शैक्षिक सत्र शुरु भएपछि विद्यालय आएको तिला गाउँपालिका–१ को सीता मावि कक्षा ८ मा अध्यनरत छात्र हिमाल रावतले बताए यो ।

तिला गाउँपालिकाको सीता, सरस्वती र देउराली माविलगायतका विद्यालयका शिक्षक विद्यालय आइपुगेको र केही शिक्षक आउन बाँकी रहेकाले विद्यालयमा नआएका शिक्षकलाई कानूनी कारवाही गरिने गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिएका छन् ।

यहाँका आठवटै पालिकामा रहेका सबै विद्यालयले फागुन १० गतेसम्म नयाँ भर्ना समाप्त गरी नियमित पढाइ शुरु गरेका छन् । जाडो छल्न छुट्टी मनाउन घर गएका जिल्लाका ५० प्रतिशत शिक्षक फर्किएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी शिवशङ्कर चौलागाईंले बताए ।

विसं २०७५ को तथ्याङ्कअनुसार जुम्लामा मावि, निमावि र प्रावि गरी १७० विद्यालयमा दरबन्दी तथा राहत कोटा गरी ८०७ शिक्षक रहेको र त्यसमध्ये पाँच प्रतिशत शिक्षक जिल्ला नफर्किएको सूचना अधिकारी चौलागाईंले बताए ।