पु.समाचार

बाँस्कोटा प्रकरण र एमसीसीका बारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा अडियो प्रकरण लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

केहिदिन अघि बँस्कोटाले सेक्युरिटि प्रेस खरिदमा बार्गेनिङ गरेको अडीयो सार्वजनिक भएपछि सरकारको चौतर्फि आलोचना भईरहेकाबेला नेकपाले आज बैठक बोलाएको छ ।

आज बिहान सवा ११ बजे बस्ने बैठकमा विवादित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिषयमा पनि छलफल हुने भएको छ ।

पछिल्लो समय एमसिसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टीभित्रबाटै दबाव आउन थालेपछि नेकपाले बैठकबाट उक्त विषय सम्बोधन गर्ने एक जना सचिवालय सदस्यले बताएका छन् ।

बैठकमा एमसीसी र पछिल्लो समय नेकपाले बनाएको कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वयले आफ्नो धारणा राख्ने बताइएको छ ।

यसअघि गत १० फागुन शनिबार बसेको बैठकमा यी विषयमा छलफल भए पनि नेतृत्व टुंगोमा पुग्न सकेको थिएन ।

त्यसको अघिल्लो दिन ९ फागुनमा एमसीसी अध्ययन कार्यदलले करिब २० दिन लगाएर गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन तयार पारेर बुझाएको थियो ।