प्रदेश 2

महेन्द्रनारायण निधि काँग्रेसकामात्र नभएर देश र लोकतन्त्रकै बिशिष्ट व्यक्तीत्व हुन्ः मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्व महेन्द्रनारायण निधि काँग्रेसका मात्र नभएर देशका महत्वपूर्ण व्यक्तीत्व एवं लोकतन्त्रकै निधि भएको बताएका छन् । गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको ९८ औँ जन्मजयन्तीका अवसरमा नेपाल काँग्रेस कार्य समिति धनुषाद्वारा आज यहाँ आयोजित समारोहमा मुख्यमन्त्री राउतले लोकतान्त्रिक आन्दोलनमा निधिले खेल्नुभएको भूमिका सधैंँ स्मरणीय रहने छ भने ।

मुख्यमन्त्री राउतले स्व निधिको लोकतन्त्रप्रतिको आस्था, विचार र सिद्धान्तले उहाँको नामको निधि मात्र नभई लोकतन्त्रकै निधि बनाएको प्रसङ्ग उल्लेख गरे । उनले भने, “निधिको त्याग, विचार, समर्पणलाई हामीले आफ्नो जीवनमा उतार्न सक्यो भने सच्चा लोकतन्त्र स्थापना गर्न सक्छौँ, सामाजिक न्याय स्थापना हुनसक्छ र उत्पीडनमा रहेका समुदायले न्याय पाउन सक्छ ।”

मुख्यमन्त्री राउतले आजको राजनीतिमा समेत स्व निधि सबैका लागि प्रेरणाको स्रोत रहेको बताउँदै मधेशको विकासका लागि उहाँ सधैं चिन्तित रहेको प्रसङ्ग उल्लेख गरे । एक फरक प्रसङ्गमा मुख्यमन्त्री राउतले ‘केही नेता मञ्चपिच्छे बोली फेर्दे सङ्घीयतालाई धराप पार्ने गरी प्रदेश नं २ को सरकारको परिवर्तनको सपनादेखि रहनुभएको छ, त्यस्तो सपना नदेखे हुन्छ’ भने ।

जिल्ला सभापति महेश शङ्कर गिरीको अध्यक्षतामा भएको समारोहमा काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, पूर्वमन्त्री रामकृष्ण यादव र प्रदेशसभा सदस्य रामसरोज यादवले गान्धीवादी नेता स्व निधिको व्यक्तित्वबारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।