साहित्य

आखिर के गर्यौ र तिम्ले मेरो लागि ?

   -गुरुराज घिमिरे                                                                                                                                – कविता                                                                                                                                                      

हो! मैंले माग्दै नमागी सुझाव दिने
तिम्रो दुस्साहसलाई धिक्कार छ
अनि मैंले सोध्दै नसोधी
आफ्नो हालचाल बताउने
तिम्रो योग्यतालाई तिरस्कार छ
किन ज्यादा सल्लाह दिन्छौ बिनसित्तैमा?
किन उपदेश दिन्छौ घरिघरि?
म त आफ्नै मर्जिको मालिक हुँ
दुनियाँ मेरा निम्ति फगत तमासा मात्र
र म एक विलक्षण तमासे
मेरो खुशीमा रमाउन नसक्ने
मैंले राम्रो खाएको र लाएको देख्न नसक्ने
तिम्रो छटपटीलाई धिक्कार छ
अनि मेरो सुखमा पीरोलिने
तिम्रो जलनलाई तिरस्कार छ!
तिमीलाई लाग्दो हो
रूनु पर्छ मैलेपनि तिम्ले जस्तै
अनि तिमी सरह तड्पिनु पर्छ बेला बेला
कसले भन्यो?
अब मेरो त्यो काम होइन
जे जति गरे मैंले गरिहाले
तिम्रो मुर्खताको साँघु तरेर
आलिसान मुकाममा थकाई मारेको बेला
मेरो शान्ति बिथोल्न खोज्ने
र मेरो खुबी र चातुर्यताले भोग गरेको
थोरै आनन्दलाई सहन नसक्ने
तिम्रो इर्श्यालु अल्पबुद्दीलाई धिक्कार छ
मान्छेबाट अवतार बनेको
मेरो महान ब्यक्तित्वलाई होच्याउन खोज्ने
तिम्रो औसत विवेकलाई तिरस्कार छ
आखिर के गर्यौ र तिम्ले मेरो लागि?
जाबो एक भोट न हो
त्यो पनि तिम्ले सहजै दिएको कहाँ होर!
मैले बडो यत्नले तानेको
त्यसैलाई सर्वस्व ठानेका छौ भने
त्यो तिम्रो मन्द बुद्धि !
कठैबरा!मबाट सद्ब्यवहारको आस गर्ने
तिम्रो निरिहतालाई धिक्कार छ
मैले जिन्दगीमा एेश्वर्यको उत्कर्ष चुमेको बेला
मेरो आमोद प्रमोदमा खिसीट्युरी गर्ने
तिम्रो बालापनलाई तिरस्कार छ!!