प्रदेश 1

दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थलको परीक्षण उडान सफल

खोटाङ, १३ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थलमा आज गरिएको परीक्षण उडान सफल भएको छ ।

विसं २०७५ जेठ १ गते गएको पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको परीक्षण उडान सफल भएको हो । अवरुद्ध विमानस्थलमा परीक्षण उडान सफल भएसँगै नियमित उडान भर्नका लागि सम्बन्धित निकायमा पहल थालिएको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बताए ।

“खानीडाँडा विमानस्थल सबैको पायक पर्ने ठाउँमा रहेको विमानस्थल हो”, उनले भने, “विशेष गरी जिल्ला अस्पताल दिक्तेलबाट रिफर गरिएका बिरामीलाई अन्यत्र लैजान प्रयोग गरिने खानीडाँडा विमानस्थलाई नियमित सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आग्रह गरिएको छ ।”

परीक्षण उडानका क्रममा सोही विमानमा आएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पासाङले कम्तीमा पनि हप्तामा दुई पटक उडान गर्ने वातारण मिलाइने बताए । बिहान करिब १०ः३० बजे खानीडाँडा विमानस्थलमा अवतरण भएको सो विमानमा अर्का प्रदेशसभा सदस्य एवं जग्गादाता उषाकला राई, नेपाल वायु सेवा निगमका अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचनलगायतका टोली निरीक्षणमा आएको थियो ।

परीक्षण उडान तथा अनुगमनका क्रममा सहभागी जिल्लावासीले खानीडाँडा–काठमाडौँ मात्र नभई खानीडाँडा–विराटनगर पनि नियमित उडान भर्ने व्यवस्था गर्न निगम समक्ष माग गरेका छन् । सो अवसरमा निगमका अप्रेशन विभाग प्रमुख ज्वारचनले पहिलो चरणमा खानीडाँडा–काठमाडौँ हप्ताको दुई पटक मङ्गलबार र शनिबार नियमित उडान भरिने बताए ।

पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल प्राधिकरणको पाँच करोड ३९ लाख ४३ हजार ३५ रुपैयाँ ८८ पैसा लगानीमा कान्छाराम कन्स्ट्रक्शन प्रालि काठमाडौँले पुनःमर्मतको काम गरेको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । “लगातार परेको वर्षात्को पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलबाढीले कटान गर्दा पहिरो गएको थियो”, उनले भने, “पहिरो गएपछि अवरुद्ध विमानस्थल पुनः मर्मत गरेर २० महिनापछि सञ्चालनमा ल्याइएको छ ।”

विसं २०७५ भदौ १६ गतेबाट काम शुरु गरिएको विमानस्थल पुनःमर्मतको काम गत मङ्सिरमै सम्पन्न गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि हर्कबहादुर श्रेष्ठले बताए । नागरिक उडड्यन प्राधिकरणसँगको सम्झौताअनुसार समयमै काम सम्पन्न गरिए पनि अन्तिम भुक्तानी भने पाउन बाँकी रहेको श्रेष्ठको भनाइ छ ।

झण्डै दुई वर्ष अवरुद्ध विमानस्थलमा सफल परीक्षण भएपछि नियमित उडान हुनेमा जिल्लावासी आशावादी बनेका छन् । विमानस्थल निर्माणका क्रममा माथिल्लो भाग कटान गरेर फालिएको माटोमाथि जाली भरिएका कारण पहिरो गएको स्थानीय राजेन्द्र राईले बताए । विमानस्थल निर्माणको कामको जिम्मा लिने ठेकेदार कम्पनीका प्रतिनिधिले छोटो समयमै बढी कमाउने उद्देश्यले काम गर्दा यस्तो भएको हो”, उनले भने, “यसको दीर्घकालीन समाधान नखोजिएमा पुनः यस्तै हुने अवस्था छ ।”

विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको विमानस्थल गुणस्तरहीन रहेको यसअघि नै गुनासो आएको थियो । करिब चार वर्षअघि मात्र कालोपत्र गरिएको विमानस्थल पटक/पटक पहिरोको जोखिममा पर्दै आएको छ ।

कालोपत्र गर्ने क्रममै उप्किनुका साथै खाल्डाखुल्डी परेको खानीडाँडा विमानस्थल चार महिनापछि पुनः टाल्ने काम गरिएको थियो । विमानस्थल अभावमा लामो समयदेखि लाखौँ खर्चमा हेलिकप्टरमार्फत राजधानी काठमाडौँलगायत तराईका जिल्ला आवतजावत गर्न बाध्य बनेका जिल्लावासीले चन्दा सङ्कलन तथा दातृ निकायबाट प्राप्त रकमले उक्त खानीडाँडा विमानस्थल निर्माण गरेका हुन् ।

तीन वटा विमानस्थल रहेको जिल्लामा यसअघिसम्म उत्तरी क्षेत्रमा रहेको लामीडाँडा र दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थल मात्रै सञ्चालनमा रहेको थियो । दश स्थानीय तह रहेको जिल्लाको तीनवटै विमानस्थल कालोपत्र गरिएको छ ।