पु.समाचार

आजको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षीदल कांग्रेसले अबरोध नगर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसदबैठक अवरुद्ध नगर्ने भएको छ ।

हिजो (सोमबार) मुख्य विपक्षी दल कांग्रेस सहितको समाजवादी र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच आजको बैठक स्थगित नगर्ने निर्णय भएको हो ।

आजको बैठकमा सुरुमै समय लिएर बोल्ने व्यवस्था सभामुखले मिलाईदिएमा बैठक चल्न दिने र बोल्न नपाए बैठक अबरोध गर्ने तीन दलको बैठकमा निर्णय भएको छ ।

अगाडीको बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस मागेको अडियो प्रकरणमा प्रधानमन्त्री पेपि शर्मा ओलीले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गरेको थियो । गत ८ गतेको प्रतिनिधिसभा बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीहरुलाई कार्यभार थपिएको सम्बन्धी पत्र पढेर सुनाउने तथा विभिन्न विधेयक छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७६’ पेश गरिने भएको छ । त्यस्तै अर्थमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ र ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७६ छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको ‘बिउ बिजन दोस्रो संशोधन विधेयक २०७५’ छलफल र पारितका लागि पेश गर्नेछन् ।

संसद सचिवालयकाअनुसार बैठकमा कृषि मन्त्री भुसालले ‘विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६’ पनि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।