समाचार

गुम्बामा ‘सिठो ल्हाछो’ शान्तिदेव र क्रोधदेवको चित्र कोरिने

धरान । धरान ८ स्थित श्री हिमालय महायान रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बामा सिठो ल्हाछो अर्थात शान्तिदेव र क्रोधदेवको चित्र कोरिने भएको छ । चित्र निर्माणका लागि लक्ष्मीप्रसाद मोक्तान संयोजक, मणिकुमार मोक्तान कोषाध्यक्ष र सदस्यहरु मैतबहादुर गोले, हर्क गोले, विष्णु मोक्तान, केवी बल र हर्क योन्जन रहेको सात सदस्यीय समिति गठन गरिएको गुम्बाका अध्यक्ष हर्क गोलेले बताए ।

लामा धर्ममा मानिसको दिमाग, मन, आत्मा र शरीरसंग सम्बन्धित विभिन्न ४२ वटा शान्तिदेव र ५८ वटा क्रोधदेव गरी १०० वटा देउताहरु हुन्छन् जसलाई लामा भाषामा ‘सिठो ल्हाछो’ भनिन्छ । ती देवताहरुलाई स्वर्गारोहण भएको ३ दिनमा मानिसको दिवंगत आत्मा सपनाजस्तोवाट व्युंझिएपछि एक/एक गरेर देख्दै जाने धार्मिक विश्वास रहिआएको गुम्वाका खेन्पो तेन्जिङ वाइवाले बताए । यीनै शान्तिदेव र क्रोधदेवका कारण मानिसको मन, दिल र दिमागमा क्रोध र शान्ति उत्पन्न हुने, विभिन्न सकरात्मक, नकरात्मक विचारहरु छिनछिनमै आउने आदि हुने गरेको खेन्पो वाइवाले बताए ।

एउटा देउताको चित्र कोर्न करिव दशहजार खर्च हुने अनुमान गरिएकाले कूल दशलाखको लागतमा उक्त चित्र कोरिन लागेको गुम्वाका संरक्षक मैतबहदुर गोले तामाङले बताए । देउताको चित्र निर्माणका लागि समिति गठन भएसंगै पूण्यलाभका लागि विभिन्न दाताहरुवाट दुईलाख संकलन भईसकेको समितिका सदस्य विष्णु मोक्तानले बताए ।