अन्तर्राष्ट्रिय

कोरोना फैलिने क्रम तीब्र, चीनमा २ हजार ५९२, इरानमा १२ र दक्षिण कोरीयामा ७ जनाको मृत्यु

सोल । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१ जनामा थप सङ्क्रमण देखिएको छ । दक्षिण कोरियामा कुल सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको सोमबार जनाइएको छ । त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या सात पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनमा मृत्यु हुनेको संख्या २ हजार ५९२

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ५९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ । तर गत चार दिनदेखि यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या लगातार करिब १०० रहेको जनाइएको छ । पछिल्लो चार दिनदेखि ज्यान गुमाएका यी व्यक्तिहरु सबै हुबेइ प्रान्तका रहेका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् ।

सङ्क्रमित हुनेको सङ्ख्या एकाएक अत्यधिक तीब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उहाँले आइतबार जानकारी दिएका थिए । आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए । “सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ,” उनले भने।

इरानमा १२ जनाको मृत्यु

इरानमा फैलिएको कोरोना भाइरसका कारण सोमबारसम्ममा मृत्यु हुनेको व्यक्तिको संख्या १२ पुगेको संसदका एक प्रवक्ताले बताएका छन् । संसदको बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाई उद्धृत गर्दैै अर्ध सरकारी समाचार संस्था इस्नाले भाइरसको सङ्क्रमण ४७ जनामा देखिएको जनाएको छ ।

अफगानिस्तान, बहराइन र कुवेतमा पनि सङ्क्रमण

एएफपीका अनुसार अफगानिस्तान, बहराइन र कुवेतमा कोरोना सङ्क्रमित व्यक्ति फेला परेको छ । कुवेतमा फेला परेका सङ्क्रमित तीन व्यक्ति इरानबाट आएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।