राजनीति

कांग्रेसको निर्देशन: ‘वडादेखि केन्द्रसम्मको भ्रष्टाचार भण्डाफोर गर्न शसक्त हुनुहोस्’

काठमाडौं । नेपाली कांग्रेसको ‘छाया मन्त्रीहरूको बैठक’ आइतबार सिंहदरबारमा बसेको छ । सरकारका कामकारबाहीलाई अध्ययन गर्नको लागि बनाएको उक्त बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई संयोजक (छाया मन्त्री) ले प्रतिवेदन पेश गरेका छन् ।

उक्त बैठकमा अधिकांश संयोजक (छाया मन्त्री) ले सरकारका कामकारबाही जनहित विपरीत रहेकोले पार्टी शसक्त रूपमा प्रस्तुत हुनुपर्ने बताए । सरकारका गतिविधि नजिकबाट नियाल्न संयोजक तथा सदस्यहरूलाई निर्देशन दिएको छ ।

पार्टीका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले मन्त्रालयमा हुने भ्रष्टाचारलगायत विषय खोजेर बाहिर ल्याउन निर्देशन दिइएको बताए । ‘एकपछि अर्को भ्रष्टाचार बाहिर आइरहेका छन् । सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत हुन गएका भ्रष्टाचारहरू पछिल्लोपटक पर्दाफास भयो,’ पाण्डेले भने, ‘मन्त्रालय हेर्ने जिम्मेवारी दिएका हाम्रा साथीहरूलाई यस्ता भ्रष्टाचारजस्ता क्रियाकलाप सबै मन्त्रालयमा हुन सक्छन् । त्यसलाई गहिरोसँग अध्ययन गर्नुपर्‍यो, खोज्नु पर्‍यो र ती घटनाहरूलाई बाहिर ल्याउनुपर्‍यो भनेर निर्देशन दिइएको छ ।’