आर्थिक

गगनको दावी: ७० करोड डिलमा गोकुल जति दोषी छन्, प्रधानमन्त्री त्यति नै दोषी !

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि अहिले सर्भाधिक चर्चाको विषय बनेको छ । यो प्रकरणले गर्दा राजनीतिक दलहरुमाथि नै नेपाली जनताको निरासा बढ्दै गएको छ । मन्त्री जस्तो पदमा भएका व्यक्तिले यसरी कमिसन मागेको अडियो नै सार्वजनिक भएपछि अहिले यो विषयले निकै नेपाली राजनीतिलाई तरंगित बनाएको छ ।

बाँस्कोटाको उक्त अडियो सार्वजनिक भएपछि आफ्नै पार्टीका नेताहरुले पनि राजीनामाले मात्र नपुग्ने र अनुसन्धान गरी कारबाही गर्नसमेत आग्रह गर्दै आएका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने र यस प्रकरणमा प्रधानमन्त्रीमाथि पनि शंका गर्दै आएको छ ।

यो प्रकरणको विषयमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले आज एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । पुर्व मन्त्रीसमेत रहेका थापाले बाँस्कोटाले घुस मागेको अडियो प्रधानमन्त्रीलाई २ महिना अगाडी नै थाहा भएको सुनेको बताए ।

नेता थापाले प्रधानमन्त्री केहि दिन अगाडी एक कार्यक्रममा बोल्दै बाँस्कोटाको तारिफ कुन तरिकाले गरेको भन्दै भने, ‘प्रधानमन्त्रीले के-के तौलिने भन्नु भएको, मान्छे कि जम्मा गरेको धन ?’

प्रधानमन्त्री ओलीले गोकुल बास्कोटा एकातिर, अरु काभ्रेली अर्कोतिर राखेर तौलौं, गोकुल बास्कोटाले पल्लाभारी हुन्छ भन्दै तारिफ गरेका थिए । प्रधानमन्त्री ओलीलाई थाहा भएर पनि यो हुनुको अर्थ प्रधानमन्त्री नै संलग्न भएको दाबी गर्दै नेता थापाले भने, ‘तपाईं संलग्न हुनु भएकाले गोकुल बास्कोटा जति दोषी हो, तपाईं पनि त्यति नै दोषी हो ।’