आर्थिक

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सामाजिक सुरक्षा कोषबीच खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पश्चात सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आवद्ध भएका रोजगारदाताहरुले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभुत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरुले आफ्नो तर्फबाट योगदान गर्ने रकम २० प्रतिशत समेत गरी जम्मा ३१ प्रतिशत रकम मध्ये विभिन्न योजना अन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्थाबीबच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताए । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्धेश्य तथा महत्वको बारेमा प्रकाश पारे । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले सामाजिक सुरक्षा कोषलाई आधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा दिने बताए ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु विनयरमण पौडेल, सरोज बस्नेत, सामाजिक सुरक्षा कोषका उप निर्देशक रोहित रेग्मी लगायतको उपस्थिति रहेको थियो ।