प्रदेश 1

जडीबुटीको साहराले उनीहरु उपचारमा संलग्न, जण्डिस निको भएको अनुभव

भोजपुर । पछिल्लो समय यहाँका स्थानीयवासीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीको साहराले उनीहरु उपचारमा संलग्न हुन थालेका हुन् ।

भोजपुर नगरपालिका–५ बोखिमका ५६ वर्षीय अर्जुनकुमार राई आयुर्वेद पद्धतिबाट गाउँमै जण्डिस निको भएको अनुभव सुनाउछन् । “मलाई स्थानीयस्तरको जडीबुटीले रोग निको गरायो ।”उनले भने ।

जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी भएको यहाँ जडीबुटी तथा प्रशस्त औषधिजन्य वनस्पति पाइने गरेको छ । सर्वसाधरण स्थानीयस्तरमै पाइने जडीबुटी र प्राकृतिक औषधिजन्य वनस्पतिलगायत वैदिक आर्यूवेदिक उपचार गर्छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको यस अवधिमा सेवा लिन आएका ७६७ मध्ये ६५२ बिरामी नियमित औषधि सेवनबाट निको भएका छन् । केही बिरामी उपचारका क्रममा रहेका छन् । अधिकांशमा जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धीका रोगी भएका कार्यालय प्रमुख दिलीप झाले जानकारी दिए । आयुर्वेदिक उपचार र यसको असर ढिलो हुने भएकाले सर्वसाधरणमा यसको चेतना पूर्णरूपमा पुगिनसकेको उनले बताए ।

विसं २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चुर्ण सर्वसाधरणलाई वितरण गर्न शुरु गरिएको थियो । भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय शाखा, दिङ्ला औषधालय शाखा र ओख्रे औषधालय शाखा गरी चार शाखा छन् ।