पु.समाचार

७० करोडको विवादमा परेका गोकुल बाँस्कोटा प्रधानमन्त्री ओलीका प्रतिनिधि मात्र हुन् : डा. सुरेन्द्र केसी

काठमाडौं । डा. सुरेन्द्र केसीले निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि सहानुभूति रहेको बताएका छन् । आज एक अनलाइनसँग कुरा गर्दै डा. केसीले बास्कोटा युवा हुन् र कतिपय प्रतिवाद उनीसँग भएको बताएका छन् । स्वीस कम्पनीको एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले हिजो बिहिबार पदवाट राजीनामा दिएका थिए ।

राजनीतिक विश्लेषकसमेत रहेका प्रा. डा. केसीले नेपालमा नेताहरुले युवाहरुलाई हतियार बताउने गलत सस्कार बसेको भन्दै भने, ‘ युवाहरुलाई हतियार बनाउने, तस्कर बनाउने र अपराधीक गतिविधिमा होमिदिने गर्दै आए । त्यसको नाङ्गो रुप गोकुलप्रसाद बास्कोटा हुन् । किन भने बास्कोटाले एक्लैका लागि उनले त्यो गरेको भन्ने मलाई लाग्दैन । प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा गरेको हो भन्ने लाग्छ ।’

उक्त घटना डेढ वर्ष अगाडी नै थाहा पाएको डा. केसीले जिकिर गरे । उनले भने, ‘यो घटना प्रधानमन्त्री केपी शर्मा ओली युके जादाको घटना हो । विचरा नेपाली जनताहरु अहिले सुन्दै छन् । त्यो भ्रष्टाचार गर्नको योजना बनाउनको लागि नै प्रधानमन्त्री युके गएका थिए । ‘

‘यिनीहरुलाई सूचना पनि प्रिय नलाग्ने, सुशासन पनि चाहिने । अनि उपयुक्त नेतृत्व नभए कसरी सुशासन हुन्छ भनेर नबुझ्ने । भोट हाल्ने बेलामा कि त खोयाबिर्केको भर कि नातागोताको भर र पैसाको भरमा भोट लगाउछन् ।अनि तल परिणाम आएन भनेर हामी चीच्याउने । बास्कोटालाई पनि काभ्रेका जनताले भोट दिएर जिताएर पठाएका हुन् । खोइत यस्तो हालत छ।’ डा. केसीले आक्रोश पोखे ।

डा. केसीले युवाहरुलाई देश निर्माणका लागि अग्रसर नगराउने हो भने खाडीमा गएर पसिना नचुहाई परिवार पाल्न धौधौ हुने हुँदा देश विकास पनि असम्भव रहेको भन्दै त्यसका लागि जिम्मेवार व्यक्ति तथा संस्थाले सोच्ने बेला आएको बताए ।