खेलकुद

वर्षाका कारण दिदीबहिनी कप महिला भलिबलको फाइनल स्थगित

पर्वत । मौसममा बदली आएर वर्षासमेत भएपछि पर्वतमा भइरहेको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका फाइनलका दुई खेल रोकिएका छन् ।

शुक्रबार बिहान ९ बजे तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र होङवान्जी न्यू डायमन्ड एकेडेमी तथा ११ बजे विजेता र उपविजेताका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने तयारी भएको थियो ।

बिहानदेखि यस क्षेत्रमा वर्षा भएकाले मैदान चिप्लो बन्दा शुक्रबारका खेलहरु स्थगत गर्नु परेको रेफ्री टहलसिंह थापाले जानकारी दिए । उनका अनुसार वर्षा रोकिएर मौसम अनुकूल भएका शनिबार दुईवटै खेल सम्पन्न गर्ने तयारी छ ।

१३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिस र एपिएफ फाइनलमा पुगेका हुन् । एपिएफले होङग्वान्जी न्यू डायमन्डलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो भने एपिएफले होङवान्जी न्यू डायमन्ड एकेडेमीलाई पराजित गरेको थियो । पुलिसले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्रतियोगिताको विजेताले दुई लाख, दोस्रो हुने टोलीले एक लाख र तेस्रो हुने टोलीले पचास हजार नगद प्राप्त गर्नेछ । वर्षाले महोत्सवका अन्य कार्यक्रमसमेत प्रभावित बनेका छन् । गत फागुन १ गतेबाट पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीको जुकेधारा मैदानमा भइरहेको महोत्सवको समापन फागुन ११ गते हुने रेडियोकी अध्यक्ष कल्पना चापागाईंले जानकारी दिइन ।