प्रदेश 1

जुवा खेल्दै गरेको अवस्थामा हेडमास्टरसहित आठ रङ्गेहात पक्राउ

भद्रपुर । सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयवासीले दिएको जानकारीका आधारमा उनीहरुलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले रु ९१ हजार ३८० र सात मोबाइल बरामद गरेको छ ।