स्वास्थ्य

एआरटी सेवा सदरमुकाम केन्द्रितः सङ्क्रमितलाई सेवा लिन सकस

गलकोट । एचआइभी सङ्क्रमितले औषधि तथा परामर्श सेवा पाउन समेत समस्या भोग्दै आएका छन् । पर्वतकी एक महिलाले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टीरेक्टो भाइरल ट्रिटेमेन्ट (एआरटी) सेवा लिँदै आएका छन् ।

विभेद एवं लाञ्छनाबाट बच्न उनले बागलुङमा आएर औषधि तथा परामर्श लिन आउने गर्दछन् । परिवारको कमजोर आर्थिक अवस्थाका हुँदापनि सो स्थानमा आउन ऋणधन गर्नुपर्ने अवस्था रहेको छ । उनि भन्छन्, “एचआइभी सङ्क्रमितलाई स्थानीय सरकारले स्थानीय तहमा सहयोग गर्नुपर्छ । ”

धौलागिरि अञ्चल अस्पतालमा सङ्क्रमितलाई निःशुल्क औषधि तथा परामर्श प्रदान गर्न एआरटी सेन्टर सञ्चालनमा रहेको छ । टाढाबाट औषधि उपचारका लागि सङ्क्रमित सदरमकुमा आउँदा धेरै खर्च हुने सेन्टरका प्रमुख प्रदीप आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्लामा ३९५ एचआइभी सङ्क्रमितले नियमित एआरटी औषधि लिइरहेका छन् । ती मध्ये २० बालबालिका छन् ।

अस्पतालमा उपचारका लागि सेवा लिन आउँदा आर्थिक अवस्था कमजोर भएका एवम् ग्रामीण भेगबाट आउन जान समस्या हुनेका लागि धौलागिरि पोजेटिभ समूहले निःशुल्क खान बस्नको व्यवस्था गर्दै आएको छ ।

सङ्क्रमित बालबालिकालाई विभिन्न निकायको सहयोगमा संस्थाले संरक्षित भत्ता प्रदान गर्दै आएको छ ।

केही समयअघि मात्रै सङ्क्रमित भएको पत्ता लागे पछि धौलागिरि पोजेटिभ समूहको आश्रयमा बस्दै आएकी अर्की एचआइभी सङ्क्रमितले समाजले गर्ने विभेदबाट माथि उठेर संस्थाले गरेको सहयोगले आंशिक भए पनि राहत भएको बताएका छन् ।

उनले यातयात खर्च जुटाउन नसक्दा औषधि तथा परामर्श लिन आउन समस्या हुने गरेको भए पनि खाना तथा बस्नको व्यवस्थाले केही सहज भएको जानकारी दिएका छन् । समूहले सङ्क्रमितका लागि लक्षित गरी सञ्चालन गरेको हेरचाह केन्द्र पनि बजेट अभावका कारण सङ्कटमा परेको जनाएको छ ।

मासिकरुपमा यहाँ झण्डै ४० जना सङ्क्रमितले आश्रय लिने गरेका भएपनी आवश्यक बजेटको जोहो गर्न नसक्दा हेचाह केन्द्र चलाउन समस्या भएको छ ।

विभिन्न सहयोगी निकायबाट आउने रकमको समय अवधि समाप्त भएको र स्थानीय निकायले एचआइभी सङ्क्रमितका लागि त्यति ध्यान नदिएका कारण सङ्क्रमितलाई खाना बस्नको व्यवस्था गर्नसमेत कठिन हुन थालेको समूहका अध्यक्ष चन्द्रबहादुर खत्रीले बताए ।

केन्द्रमा सङ्क्रमितलाई खाना, बस्नका साथै मनोवैज्ञानिक परामर्श र जटिलता भएका सङ्क्रमित बिरामीलाई रेफर प्रदान गरिदै आएको उनले जानकारी दिएका छन् ।

पिछिल्लो समय सङ्क्रमित खुल्न थाले पनि उनीहरुले प्रयोग गर्ने औषधि तथा परामर्शकै लागि सदरमुकाम धाउँदा धेरै खर्च गर्नुपर्ने भएको हो ।

अशिक्षा, भौगोलिक विकटतालगायतका कारण अझै पनि ग्रामीण भेगका सङ्क्रमित विद्युत् उपचारबाट वञ्चित भएका छन् ।

अहिले सङ्क्रमितलाई सरकारले निःशुल्क औषधि वितरण र निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको भए पनि पर्याप्त नभएको उनीहरुको गुनासो रहेको छ ।