प्रदेश 1

जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ

भद्रपुर । शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर भई हाल मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर–६ का सूर्य भनिने श्यामप्रसाद शिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उहाँका अनुसार उनीहरुले मेचीनगर–७ स्थित प्यारीभिट्टामा चार तले १६ कोठा भएको घर भाडामा लिएर युवतीलाई राख्ने र ग्राहकसँग मोटो रकम लिएर उनीहरुलाई यौन धन्दामा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मेचीनगर नगरपालिका–६ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान २० र २१ वर्षका महिलालाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो । आफ्नो घर भक्तपुर र मोरङ बताउने दुई युवतीलाई सोधपुछ गर्दा सो रहस्य प्रहरीले पत्ता लगाएको हो ।

युवतीहरुले आफूलाई बन्धक बनाइ घरमा राखेर ग्राहकसँग दिनभर यौनसम्पर्क गराउने र बेलुका विभिन्न होटलमा पु¥याउने गरेको बताएको उनको भनाइ छ । उनका अनुसार उनीहरुले दैनिक पाँचदेखि छ जनासँग यौन सम्पर्क गराउन महिलालाई बाध्य बनाउँदै आएका थिए ।

यौन सम्पर्क गरे वापत प्रतिघण्टा रु पाँच सय र रातको समयमा होटलमा पठाउँदा प्रति रातको रु दुई हजार ५०० दिने प्रलोभन देखाई ती युवतीलाई यौन धन्दामा लगाउने र उनीहरुले भने रु १० हजारसम्म लिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रनाउ पोखरेलले बताए ।

बुधबार पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरुलाई मानव बेचबिखन ओसारपसार विरुद्धको मुद्दा चलाइनेछ ।

मानवविखन तथा ओसारपसार कसुरको अभियुक्तलाई १० देखि १५ वर्षसम्म कैद र रु दुई लाखसम्म जरिवाना हुनेछ । युवतीको उद्धार गरी प्रहरीले काठमाडौँमा रहेको विश्वास नेपालको आश्रममा पुनःस्थापनाका लागि पठाउने तयारी गरिरहेको छ ।