विचार/ब्लग

महाशिवरात्रीमा पशुपति क्षेत्रमा नाङ्गै हिँड्ने बाबा बहिस्कार गरौं, नारीको सम्मान गरौं

रजनी श्रेष्ठ/ फागुन शुुक्ल चर्तुदशीका दिन पर्ने हिन्दु धर्मको प्रमुख चाड शिवरात्री विशेष गरी शिव भगवानको पुजा आधाना गरी मनाउने गर्दछ । सृष्टिको प्रारम्भको समयमा यसै दिन भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएको र प्रलयकालमा यसै रातको समयमा भगवान शिवले ताण्डब गर्दै आफ्नो तेस्रो नेत्रले ब्रमाण्डलाई ध्वस्त गरेको धार्मिक मान्यता रहेको छ । जसकारण यस दिनलाई माहाशिवरात्री अथवा कालरात्री पनि भनिन्छ । यस दिनमा शिवभक्तहरु विभिन्न शिव मन्दिरमा गई शिवलिंङ्गको पुजा गर्ने गर्दछन् । यस दिन विशेष रुपमा निलाहार ब्रत बसी शिवलिंङ्गमा दुधले नुहाई बेलपत्र र धतुरो चढाई रातमा आरधाना गरी चार पहरको पुजा गरे पुण्य प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । दीन दुःखी, कष्टपुर्ण अवस्थमा रहेका र निर्दयीहरुको हृदयमा धर्मको उदय गर्ने भगवान आशुतोषको प्रिय दिनको रुपमा शिवरात्रीलाई लिने गरिन्छ । यस दिन भक्तजनहरुले गरातभर शिवको आरधाना गरी भगवान शिवलाई प्रसन्न पार्ने गर्दछन् ।

पछिल्लो समयमा धर्म, संस्कृति र परम्परालाई परिमार्जन गर्ने भन्दैे आ–आफ्नै अनुकुलताका आधारमा चाडपर्वहरु मनाउने गरेको पाइन्छ । शिवरात्रीकै सन्दर्भमा हेर्ने हो भने शिवरात्रीको समयमा नेपालमा विभिन्न शिवका शक्ति–पीठ मन्दिहरुमा अत्याधिक संख्यामा भक्तजनहरुको भीड लाग्ने गर्दछ । भने विशेषगरी पशुपतिनाथको दर्शन गर्न देश विदेशबाट हजारौं भक्तजनहरु आउने गर्दछन् । शिवरात्रीका लागि विषेशगरी भारत, मलेसिया लगायत बिश्वभरबाट हिन्दु धर्मालम्बीहरु पुजा गर्न आउने गरेका छन् ।

भक्तजनहरुका साथसाथै मन्दिर परिसरमा विभिन्न किसिमका बाबाहरु देखिने गरेका छन् । केही बर्षयता शिवरात्रिको समयमा यस्ता बाबाहरुको संख्या अत्याधिक रुपमा बढेकोे पाईएको छ । यस्ता बाबाहरु नेपाल भित्रको मात्र नभई भारतबाट समेत शिवरात्रिका लागि सयौंको संख्यामा नेपालको पशुपतिनाथ लगायत विभिन्न शिव मन्दिरमा शिवरात्रीको दुई हप्ता अघि देखि नै आउने गरेका छन् । यस्ता बाबाहरु मन्दिर परिसरमा बस्ने भष्मको लेप लगाउने, गाँजा, भाङ खाने र धुनि बालेर बस्ने गरेका छन् । यसरी लामो जट्टा पालेका र शरिरमा भष्म दलेर नांगा बस्ने गरेका बाबाहरु गाँजाको सुरमा भयानक देखिने गर्दछन् । जसकारण स–साना बालबालिकाहरु मन्दिर परिसरमा जन डराउने र भगवान डरलाग्दो हुने रहेछ भन्ने गलत धारणाले बुझ्ने गर्दछन् । यसले समाजमा अघिल्ला पुस्ताले धर्मप्रति नराम्रो दृष्टिकोण बनाउन सक्छ ।

शिवरात्रिमा आउने बाबाहरु केही साच्चै शिवभक्त र साधु हुने गरेतापनि प्रायजसो नक्कलि रुपमा बाबाको भेष धारण गरी जिविकोपार्जन कै लागि पनि मन्दिर परिसरमा आउने र वस्ने गरेको बुझ्न सकिन्छ । यसरी शिवभक्तको नाममा बनेका नक्कली बाबाहरु गाँजा र भाङलाई शिवको प्रसाद भन्दै खाने र लागुऔषधको सुरमा अप्राकृतिक क्रियाकलाप गर्ने देखी चोरी, लुटपाट र गैरकानुनी काम समेत गर्ने गरेको पाइन्छ । यस्ता नक्कली बाबाहरुबाट हुने गरेका क्रियाकलापले हिन्दुधर्मको बद्नाम गर्नुका साथै समाजमा धर्मको नकारात्मक छाप पर्ने गर्दछ । नागों देखीने तर शरिरमा भष्मलगाएर नांगा बस्ने बाबाहरु आफुलाई शिवको अनन्य भक्त रहेको र आफनो दर्शन गरे शिव खुसी हुन्छ, भन्ने खालका प्रवचनहरु भक्तजनहरुलाई सुनाएर भ्रम फैलाउने र महिला भक्तजनहरुमाथि यौन दुव्र्यवहार समेत गर्ने गरेको पाइएको छ ।

यसरी शिवरात्रीको महिना अघि देखि नै पशुपति परिसरमा आउने र बस्ने साधु बाबाहरुले खुल्ला रुपमा गाँजा, भाङ खाने गरेकाले युवा वर्गका शिवरात्रीका दिन गाँजा, भाङ खानुपर्ने रहेछ भन्ने मानसिकता बन्ने गरेको र बाबाहरुको नक्कल गरी गाँजा, भाङ खाने गरेको समत सुन्ने गरीन्छ । यसप्रकार धर्मको नाममा बनेका नक्कली बाबाहरुलाई समयमै व्यवस्थापनको बाटो नखोजे समाजमा युवा वर्गलाई लागुऔषध सेवन तिर समेत लैजान सक्ने देखिन्छ ।

प्रायगरी योगीको भेष धारण गरी साधु बाबा बन्ने भारतिय नागरिक रहने गरेको र नेपालका तराई क्षेत्रका नागरिक हुने गरेका देखिन्छन् । यसरी भक्तिको नक्कलगरी भक्तजनहरुलाई भ्रमित गर्दै मन्दिर परिसर जिविकोपार्जन गर्ने, मनोरञ्जनका लागि समाजलाई बेबकुफ बनाउने, गाँजा चरेसको ब्यापार खुलेआम गर्ने बाबाहरुलाई पहिचानगरी कारबाही गर्नु आवश्यक छ । यसरी धर्म र पर्वको गलत तरीकाले प्रचार प्रसार गर्ने नांगा बाबाहरु शिवरात्री जस्तो पवित्र दिनमा शिव मन्दिर परिसरमा राखिनु आवश्यक्ता हो जस्तो लाग्दैन ? यसरी शरीरमा भष्म लगाउनु, लामो जट्टा पाल्नु र गाँजा भाङ खाएर नाङगै बस्नु शिव भक्त हो त ? शिवरात्रीमा यस्ता प्रकारका बाबाहरुको आगमनले हाम्रो धर्म संस्कृति र समाजमा कस्तो खालको सन्देश प्रवाह गरीरहेको छ । जिममेवार ब्यक्री, संस्था वा सरकारले सोच्न जरुरी देखिएको छ ।

शिवरात्री हिन्दुधर्मालम्बीको लागि एउटा इतिहास बोकेको ज्याद्यै महत्वपूर्ण पर्व हो । यसको जगेर्ना गर्नु हिन्दु धर्मालम्वीहरुको कर्तव्य पनि हो । यस्ता चाडपर्व र संकृतिका परम्परा देशको सम्पति र चिनारी रहेकाले चाडपर्वलाई स्थायित्व गर्दै विश्वव्यापि रुपका प्रचार प्रसार गर्नु पर्दछ । तर धर्मको नाममा बनेका नक्कली बाबा, साधुहरुले यस पर्वलाई कुरुप बनाउन सक्छ । धर्मका नाममा समाजलाई नकारात्मक असर पर्नेगरी एकसरो लुगा नै नलगार्इं लिङ्गमा घण्छटी झुण्डयाएर बस्नुलाई समाजले अपराध मान्नु पर्दछ । धर्ममा आस्था राख्ने नारी जातीहरुको उल्लेख्य सहभागीता हुने शिवरात्री पर्वलाई दुर्गन्धीत बनाउनुको सट्टा पवित्र बनाउने हो भने यसपटकको शिवरात्री पर्वमा नागा बाबाहरुलाई प्रवेश निशेध नै गरौं । म पनि हिन्दु धर्ममा आस्था राख्ने एक सचेत नारीको हैशियतले कुरा गनुपर्दा हिन्दु धर्मलाई मैले बिज्ञानको रुपमा लिँदैगर्दा यस्ता नकारात्मक कुराहरुलाई फिल्टर नगर्ने हो भने मनमा पसेको चिसो बढ्न सक्छ । समाजमा जन्मेर केही बुझ्नेभएपछि नै बुबाआमाले लाज छोप्न लुगा लगाउन सिकाएको के काम लाग्यो र ? यदि नाङ्गै हिँड्न मिल्ने नै भए किन शिवरात्री नै पर्खनुपर्यो अरुबेला पनि हिँडे भैगयो नि !

अनय कुराहरु धेरै भएपनि यस्ता धर्मका आडमा हुने बिकृति बिसंगती भने हटाउनै पर्छ । यस्ता बिकृति नहटाए अन्य बिकृतिहरु थपिएर आउन समेत सक्छन् । यस्ता बिकृति हटाउनु भनेको नारीप्रतिको सम्मान समेत हो भन्ने ठोकुाव समेत गर्न सक्छु । त्यसैले समयमै पशुपति विकास कोष, सरोकारवाला निकाय र सरकार सबैले सोच्न जरुरी देखिएको छ ।