राजनीति

देश विकासका लागि काँग्रेसको भूमिका अहम् रहने हुँदा नेता कार्यकर्ता एकजुट हुनुपर्छः डा कोइराला

गाईघाट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार यहाँ आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुन्छ भने । उनले यो गुट र त्यो गुट भन्दा लोकतन्त्र बचाउन काँग्रेसका नेता कार्यकर्ता एकजुट हुनुपर्ने समय आएको बताएका छन् ।

काँग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा कोइरालाले पार्टी गुटउपगुटको कारण कमजोर बन्न नहुनेमा जोड दिएका थिए । उनले भने,“ सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र सङ्कटमा मा पर्न सक्छ । ”

केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे, बद्री पाण्डे, लक्ष्मी परियारले पार्टीलाई पुरानै अवस्थामा पु¥याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्छ भने । काँग्रेस उदयपुरका अध्यक्ष विदुरबाबु बस्नेतले पार्टी सुदृढीकरणमा प्रशिक्षणले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।